पुलिस क्लब छाड्दै स्टार खेलाडी

काठमाडौ, २३ वैशाख । एकपछि अर्को स्टार खेलाडी तथा प्रशिक्षकले छाडेपछि  नेपाली खेलकुदको महाशक्ति नेपाल पुलिस क्लबको स्तर खस्किएको छ । यसरी क्लब छाड्नेमा फुटबलका चर्चित खेलाडी भरत खवासदेखि एथ्लेटिक्स प्रशिक्षक लीला श्रेष्ठसम्म छन् ।
एथलेटिक्सकै स्प्रिन्ट स्टार तिलकराम थारू र मिडल स्प्रिन्ट च्याम्पियन सिद्धान्त अधिकारी पनि पुलिस टिम छाड्नेको सूचीमा  छन् । थुप्रै खेलाडीको असन्तुष्टि र क्लब  छाड्ने क्रमले आसन्न घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत प्रतिकूल प्रभाव पर्ने लख काटिएको छ ।
पुलिस क्लब छाड्नेमा भरत पछिल्लो दुई वर्षका नेपाली फुटबलका सबैभन्दा उत्कृष्ट फर्वार्ड मानिन्छन् । राष्ट्रिय टोलीमा मिडफिल्डमा खेले पनि महत्त्वपूर्ण समयमा गोल गर्ने खुबीका कारण लोकप्रिय बनेका भरतले पुलिस क्लबलाई राष्ट्रिय लिग च्याम्पियन बनाएकै कारण उत्कृष्ट फर्वार्ड घोषित भएका थिए । गत सत्र थुप्रै क्लबले आँखा लगाएका खवासलाई पुलिस क्लबले एक वर्ष असइमा करार सेवामा राख्ने र अर्को वर्ष असइको परीक्षा खुलेपछि स्थायी रोजगारी दिने प्रतिबद्धतासहित आबद्ध गरेको थियो । हालै करार समाप्त भएका खवास असइको परीक्षामा अनुत्तीर्ण भए ।
‘मसँग गरिएको सम्झौता पूरा नभएपछि क्लब छाडेको हँ,’ सिपाहीको दरबन्दीसहित क्लबमा रहने र एएफसी प्रिसिडेन्ट कप खेल्ने प्रस्तावलाई अस्वीकार गरेका भरत हाल अन्य क्लबसंगको सम्झौताको तयारीमा छन् । नेपाली फुटबलका जानिफकारका अनुसार हाल प्रिसिडेन्ट क्लबमा खेल्ने पुलिस क्लब विगतभन्दा असाध्यै कमजोर  छ । भरतको अनुपस्थितिमा राम्रो परिणामको आशा गर्न अझ कठिन हुने विश्लेषक बताउँछन् ।
क्लब छाड्ने तिलकराम छैटां राष्ट्रिय खेलकुदका उत्कृष्ट खेलाडी हुन् । उनले १ सय २ सय, ४ सय र ४ गुणा सय मिटरको रिलेमा स्वर्ण पदक जितेका थिए । उनीसहितको पुलिस क्लब ४ गुणा सय मिटर रिलेमा दोस्रो भएको थियो । सिपाहीको परीक्षामा असफल तिलकराम हाल आफ्नै गृह जिल्ला नवलपरासीमा छन् । मिडलस्प्रिन्ट च्याम्पियन सिद्धान्तले ८ सय, १५ सय र चार गुणा सय मिटर रिलेको स्वर्ण पदक पाएका थिए । ४ सय मिटर दौडमा उनी दोस्रो भएका थिए । प्रहरी टिमसँगको असन्तुष्टिपछि आक्रोशित सिद्धान्त पनि अहिले सम्पर्क बाहिर छन् ।
यो भन्दा फरक कहानी लीलाको छ । व्यक्तिगत कार्य व्यस्तताका कारण क्लब छाडेको जनाइए पनि एआइजी किरण गौतमको  अनावश्यक हस्तक्षेपका कारण लीलाका लागि पुलिस क्लबको आन्तरिक वातावरण असहज बन्दै गएको थियो । प्रहरीनिकट स्रोतकै अनुसार राष्ट्रिय च्याम्पियनसिपमा जनकपुरका दीपेन्द्र गोइतलाई १ सय १० मिटर हर्डल्समा कुदाउन लीलालाई बाध्य बनाइएको थियो । गोइतले हिट चरणमै फल्र्स स्टार्ट गर्दै रेस छाडेका थिए । गोइतलाई समावेश गरिएपछि राष्ट्रिय खेलकुदमा प्रहरी कोटा पूरा भएकाले ट्रिपल जम्पमा पदकको आशा गरिएका चन्द्रदेव जोशीले टोलीमा समावेश हुने अवसर पाएका थिएनन् । त्यसो त प्रहरी जवान गोइत आफंले पनि थुप्रै अनौपचारिक गफगापमा आफू एआइजीको निकट व्यक्ति भएको र टिममा आफ्नो प्रभाव रहने बताउने गरेका छन् । लीलाले पनि पुलिस टिम छाड्नुका कारण पूर्ण रूपमा अस्वीकार गर्न सकेनन् । ‘माथिल्लो निकायको अनावश्यक हस्तक्षेपका कारण प्रहरी टिमले राष्ट्रिय खेलकुदमा केही पदक गुमाएको र राम्रा खेलाडीले सहभागिताको अवसर गुमाएको साँचो हो ।’ यसबारेमा गौतमसंग सम्पर्क हुन सकेन । गौतम एएफसी प्रिसिडेन्ट कप फुटबल प्रतियोगितामा सहभागी नेपाल पुलिस क्लबको अफिसियलका रूपमा त्यसतर्फ प्रस्थान गरेका छन् । प्रहरीनिकट एथ्लेटिक्सकर्मीकै अनुसार विभागकै आन्तरिक कारण हाइजम्पकी वर्षा भट्टराईले सहभागिताको अवसर पाइनन् ।
प्रशिक्षणमा १.४५ मिटर उफ्रने गरेकी भट्टराईलाई  सहभागी नगराइएको पुलस टिम त्यत्तिखेर चुक्चुकाएको थियो, जत्तिखेर सोही टोलीकी केशरी चौधरीले १.४२ मिटर उफ्रेर स्वर्ण पदक जितिन् । फागुनमा धनगढीमा सम्पन्न राष्ट्रिय खेलकुदमै प्रहरी विभागमा खटपटी सुरु भएपछि लीलाले १६ स्वर्ण पदकको ग्यारेन्टी गरेको र त्यो पूरा भए पनि राष्ट्रिय खेलकुदको लगत्तै राजीनामा दिएका थिए । १६ मध्ये सात स्वर्ण पदक तिलकराम र सिद्धान्तले जितेका थिए । फुटबल, भलिबल, एथ्लेटिक्स, कराते र तेक्वान्दोको महत्त्वपूर्ण शक्ति मानिने पुलिस क्लबले अधिक खेलाडीलाई शैक्षिक योग्यताको तुलनामा अत्यन्त सानो पदीय जिम्मेवारी दिने गरिएको आरोप पनि लाग्ने गरेको छ । एकदमै न्यून मात्रामा  असइ र हवल्दार छन् भने थुप्रै राष्ट्रिय खेलाडी प्रहरी जवानका रूपमा कार्यरत छन् ।  पुलिस फुटबल टिमका क्लास रक्षक रवीन श्रेष्ठको त क्लबसंँग पोखरामा राष्ट्रिय लिग फुटबल हुँदा नै खटपट सुरु भएको थियो । त्यस समयमा उनलाई थामथुम पारेर टिममा राखिएको थियो । ‘रवीनले पनि टिम छाडे यसमा कुनै आश्चर्य नमान्दा हुन्छ’, पुलिस फुटबल टिमसँग निकट एक व्यक्ति भन्छन् । रवीनले पनि पुलिस क्लबलाई दुई पटक लिग च्याम्पियन बनाउन र एक पटक प्रिसिडेन्ट कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गराउन अहम् भूमिका निर्वाह गरेका थिए । प्रहरी जवान रक्षक रवीनलाई पटक पटक बढुवाको आश्वासन दिइए पनि पूरा नगरेको जनाइन्छ ।

प्रतिक्रिया