प्रसारण कम्पनी दर्ता अन्तिम चरणमा

काठमाडौं, २२ वैशाख । प्रसारण लाइनको विकासका लागि सरकारले छुट्टै निकायका रूपमा स्थापना गर्नलागेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषद्ले कम्पनी बनाउन निर्णय गरेको भए पनि उक्त कम्पनी नौ महिनापछि बल्ल दर्ताको चरणमा पुगेको हो ।
कम्पनी निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको र प्रबन्धपत्रसमेत तयार गरिसकेको नेपाल विद्युत् प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक शेरसिंह भाटले बताए ।
कम्पनी दर्ताका लागि संयोजकसमेत तोकिएका भाटका अनुसार कम्पनी निर्माणका लागि २५ अर्ब आधिकारिक पुँजी, पाँच अर्ब जारी पुँजी र दुई अर्ब रुपियाँ चुक्ता पुँजी आवश्यक पर्छ । डेड अर्ब सरकार र ५० करोड रुपियाँ नेपाल विद्युत् प्राधिकरणको सेयर रहने गरी दुई अर्ब रुपियाँको चुक्ता पुँजी कम्पनीका लागि प्रस्तावित गरिएको छ । ‘सरकार र प्राधिकरणले पुँजीको ग्यारेन्टी गरेपछि तुरुन्तै कम्पनी दर्ता हुन्छ,’ उनले भने । कम्पनी दर्ताका लागि सरकारको तर्फबाट अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले ग्यारेन्टी गर्नुपर्ने हुन्छ ।
ऊर्जा मन्त्रालयको छुट्टै निकायका रूपमा स्थापना गर्न लागिएको कम्पनीले प्रसारण क्षेत्रको विकास र विस्तारका लागि विशेष योजना र कार्यक्रम गर्ने छ । अहिले नेपाल विद्युत् प्राधिकरण आफैंले उत्पादन, प्रसारण र वितरणको काम गर्दै आएकामा सरकारले प्रसारणका लागि छुट्टै निकाय बनाउन लागेको हो ।
कम्पनीमा ऊर्जा, अर्थ, वन र गृह मन्त्रालय तथा नागरिक लगानी कोष र कर्मचारी संचय कोषलगायतका निकाय रहनेछन् । प्रसारण लाइन निर्माणका लागि अहिले प्राधिकरणले स्थानीयवासीका साथै वन मन्त्रालयको अवरोध खेप्दै आएको छ ।
मुलुकभर निर्माण भइरहेका प्रसारण लाइनहरूमा अन्य सरकारी निकाय र स्थानीय बासिन्दाको अवरोधको कारण ट्रान्समिसन लाइन निर्माण समयमै हुन नसकिरहेको प्राधिकरणले बताउँदै आएको छ । सरकारी निकायहरू बीच नै समन्वय नहुँदा र आर्थिक समस्याले अधिकांश प्रसारण लाइन निर्माण अधुरो रहेका बेला कम्पनीले प्रसारण लाइन निर्माणका लागि ठूलो भूमिका निर्वाह गर्ने अपेक्षा ऊर्जा मन्त्रालयको छ ।
पछिल्लो समयमा विद्युत् उत्पादनका लागि निजी क्षेत्र थप सक्रिय हुन खोजे पनि प्रसारण लाइनको समस्याले कतिपय विद्युत् आयोजना निर्माणमा समस्या पर्दै आएको छ । ‘जलविद्युत् क्षेत्रमा प्रसारण लाइन निर्माण सबैभन्दा बढी चुनौतीपूर्ण देखिएको छ,’ निर्देशक भाटले थपे, ‘प्रसारण लाइन निर्माणका लागि कम्पनीले ठूलो भूमिका खेल्न सक्छ ।’

प्रतिक्रिया