चीनले हवाई क्षेत्र मिचेको आरोप

नयाँदिल्ली : चीनले मार्च महिनामा भारतको हवाईक्षेत्र दुईपटक मिचेको आरोप भारत सरकारले लगाएको छ । १६ र १९ मार्चमा चीनका दुई हेलिकोप्टर अनधिकृत रूपमा भारतीय हवाई क्षेत्रमा प्रवेश गरेकाबारे चीनको ध्यानाकर्षण गराइएको जनाइएको छ ।
भारतीय रक्षामन्त्री एके एन्टोनीले बुधबार भारतीय संसद्को माथिल्लो सभासमक्ष यस्तो बताएका हुन् । दुवै घटना भारतको हिमाञ्चल प्रदेशमा घटेको जानकारी उनले दिएका छन् । ‘हट लाइन, फ्ल्याग मिटिङ, सीमा अधिकारीहरूको बैठक र साधारण कूटनीतिक च्यानललगायत स्थापित माध्यमबाट चिनियाँ पक्षलाई यसबारे जानकारी गराइएको छ,’ उनले भने ।
सन् १९६२ मा सीमा विवादका कारण भारत र चीनबीच युद्ध भएको थियो । युद्धमा भारत पराजित भएको थियो । त्यसयता सीमा विवाद समाधान गर्न दुई राष्ट्रबीच १४ चरणमा वार्ता गरिसकेका भए पनि समाधान निस्किएको छैन । हाल भारत अधीनस्थ अरुणाचल प्रदेश र कस्मिरको उत्तरपश्चिम क्षेत्रमाथि चीनले स्वामित्व दाबी गर्दै आएको छ । भारतले भने चीन अधीनस्थ अस्काई चीन आफ्नो भएको बताउँदै आएको छ । (एजेन्सी)

प्रतिक्रिया