क्षेप्यास्त्र निरोधक ढालबारे रुस–अमेरिका तनाब

मस्को, २२ वैशाख । अमेरिकाले युरोपमा क्षेप्यास्त्र निरोधक ढाल निर्माण गरेरै छोड्ने अडान लिएको छ । अमेरिका र नेटोको अग्रसरतामा बन्न लागेको क्षेप्यास्त्र–निरोधी व्यवस्थाले रुसको सुरक्षामा खलल पुग्ने भन्दै रुसी सरकारले यसप्रति कडा आपत्ति जनाइरहेका बेला अमेरिकाले बुधबार यस्तो अडान लिएको हो ।

इरानी क्षेप्यास्त्रबाट युरोपेली मुलुकलाई जोगाउन ढाल निर्माण गर्न लागिएको अमेरिकाले जनाएको छ । तर, रुसका क्षेप्यास्त्रलाई निष्प्रभावी बनाई रुसी सैन्य सामथ्र्यलाई कमजोर पार्ने उद्देश्यले ढाल निर्माण गर्न लागिएको आरोप रुसले लगाएको छ ।
प्रधानमन्त्री भ्लादिमिर पुटिनले आगामी ६ वर्षका लागि रुसमा राष्ट्रपतिको कार्यभार सम्हाल्न लागेका बेला अमेरिकाको अडान सार्वजनिक भएको हो । अमेरिका र पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन नेटोका चर्का आलोचक पुटिनले आगामी साता राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् । त्यसैले आगामी दिन रुस र अमेरिकाबीचको सम्बन्ध तनाबपूर्ण बन्ने अनुमान सर्वत्र गरिएको छ ।
सन् २०२० सम्म ढाल निर्माण सम्पन्न गरिने अमेरिकाले जनाएको छ । रुसले भने यसबाट आफ्नो परमाणु शास्त्रागारमाथि चुनौती सिर्जना हुने टिप्पणी गरेको छ । योजनाअनुसार ढाल निर्माण गरिए यसले क्षेप्यास्त्रबाट पश्चिमी राष्ट्रलाई जोगाउने मात्र नभई रुसको परमाणु क्षेप्यास्त्रमाथि हमला गर्नेसम्मको हैसियत पश्चिमी राष्ट्रलाई दिलाउने सैन्य विश्लेषकहरूको भनाइ छ ।
यसैबीच, रुसको राजधानी मस्कोमा बिहीबारदेखि क्षेप्यास्त्रसम्बन्धी सम्मेलन सुरु भएको छ । सम्मेलनमा युरोपमा निर्माण गरिने भनिएको ढालले रुसी क्षेप्यास्त्रलाई कसरी असर गर्नेछ भन्ने विषय कम्प्युटर मोडेलिङमार्फत देखाइनेछ । अमेरिकामाथि अन्तर्राष्ट्रिय दबाब सिर्जना गराउन रुसले सम्मेलन आयोजना गरेको हो । अमेरिका र नेटोका वरिष्ठ अधिकारी, नेटोमा आबद्ध नभएका युरोपेली राष्ट्रसहित भारत र चीनले सम्मेलनमा सहभागिता जनाउनेछन् । ५० भन्दा बढी राष्ट्रले सम्मेलनमा सहभागिता जनाउने जानकारी रुसले दिएको छ ।
‘सैन्य र प्राविधिका विज्ञहरूले अमेरिका र नेटोको प्रतिरक्षा योजनाले कस्तो अवस्था निम्त्याउँछ भन्ने सजिलै बुझ्न सक्छन्,’ रुसी उपप्रतिरक्षामन्त्री एनाटोली एन्टोनोभले भने । तर, अमेरिकाले भने निर्माण गर्न लागिएको प्रतिरक्षा प्रणाली रुसतर्फ लक्षित नरहेको प्रस्ट पारेको छ । अमेरिकी सहायक प्रतिरक्षामन्त्री मेडिल्यन क्रिडनले रुसको रणनीतिक प्रतिरक्षा व्यवस्थासँग जुध्ने उद्देश्यले ढाल निर्माण गर्न नलागिएको बताएकी छन् । रुस र अमेरिकाबीच ‘रणनीतिक सन्तुलन’ कायम गर्नु अपरिहार्य भएको जिकिर पनि उनले गरेकी छन् ।
सन् २०१० मा रुस र नेटोबीच क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा सहकार्यको खोजी गर्ने सहमति भएको थियो । तर, उनीहरूबीच कुनै सम्झौता हुन सकेको थिएन । निर्माण गरिने प्रतिरक्षा व्यवस्था रुसविरुद्ध प्रयोग हुँदैन भन्ने कानुनी प्रतिबद्धता रुसले माग गरिरहेको छ । तर, अमेरिकाले क्षेप्यास्त्र प्रतिरक्षाको दायरामा ‘औपचारिक पाबन्दी’ लगाउन अस्वीकार गर्दै आएको छ । आफ्नो सुरक्षा संवेदनशीलताको बेवास्ता गरिए क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीविरुद्ध लक्षित गरी हातहतियार तैनाथ गर्ने चेतावनी रुसले दिएको छ । एजेन्सी

प्रतिक्रिया