माग पूरा गर्न दुई दिनको अल्टिमेटम

महेन्द्रनगर, २२ वैशाख । अखण्ड सुदूरपश्चिमको माग गर्दै संयुक्त आन्दोलनमा उत्रिएका यहाँका राजनीतिक दलले राज्य पुन:संरचनामा सुदूरपश्चिमलाई अखण्ड राखेर जातीय आधारमा प्रदेशको नामकरण गरिए स्वीकार्य नहुने बताएका छन् । आन्दोलनको सातौँ दिन बिहीबार महेन्द्रनगरको मदनचोकमा गरेको संयुक्त पत्रकार सम्मेलनमा संघर्षका थप कार्यक्रम सार्वजनिक गर्दै उनीहरूले यस्तो

बताएका हुन् ।
पश्चिम तराईका आदिवासी थारू समुदायले थारूवान वा थरुहट राज्यको माग गर्दै सँगसँगै आन्दोलन चर्काइरहेका बेला कञ्चनपुरका दलहरूले सहमतिका आधारमा प्रदेशको नामकरण गर्न सकिने बताए । ‘सुदूरपश्चिम सबै जातजाति तथा वर्गको बसोवास गर्ने थलो भएकाले कुनै एक जातिविशेषबाट प्रदेशको नाम राखिनुहँुदैन,’ पत्रकार सम्मेलनमा कांग्रेस कञ्चनपुरका सभापति बहादुर थापाले भने, ‘थारू समुदायको अधिकारलाई समेत सुनिश्चित गर्दै सहमतिका आधारमा प्रदेशको नामकरण गर्न सकिन्छ ।’ साम्प्रदायिक सद्भाव राख्दै अविभाज्य सुदूरपश्चिमका लागि जनमत संग्रहसमेत गर्न सकिने उनले बताए ।
एमाले कञ्चनपुरका अध्यक्ष ईश्वरी खरेलले सुदूरपश्चिमलाई टुक्रयाएर गरिने जुनसुकै निर्णयको विरोध गरिने बताए । ‘हाम्रो माग एक सुदूरपश्चिम हो, यसले सबैको प्रतिनिधित्व गर्छ,’ उनले भने, ‘सबै वर्गको अधिकार सुनिश्चित गरेर सुदूरपश्चिमलाई एक राज्य बनाइनुपर्छ ।’
एमाले महाकाली अञ्चल कमिटीका सचिव राजेन्द्र रावलले अखण्ड सुदूरपश्चिमका लागि कुनै हालतमा पछि नहट्ने बताए । उनले अखण्ड सुदूरपश्चिमका लागि पदबाट मात्रै होइन, जीवनबाट समेत राजीनामा दिन तयार रहेको बताए ।
आन्दोलनरत दलले थप कार्यक्रमको घोषणासमेत गरेका छन् । शुक्रबार बृहत् अन्तरक्रिया र शनिबार जनप्रदर्शन तथा सभा गर्ने उनीहरूले जनाएका छन् । दुई दिनभित्र मागको कुनै सुनवाइ नभए थप कडा आन्दोलनको घोषणा गर्ने उनीहरूले जनाएका छन् । कार्यक्रममा एमाओवादीबाहेक प्राय: सबै दलका नेताको उपस्थिति थियो । संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका नेता पनि पत्रकार सम्मेलनमा देखिएनन् ।
एक साताअघि एमाओवादीले जातीय आधारमा गरेको राज्य पुन:संरचनाको प्रस्तावमा सुदूरपश्चिमलाई विभाजन गरेपछि यहाँ आन्दोलन चर्कंदै गएको छ । दलहरूले अखण्ड सुदूरपश्चिमको माग गर्दै जारी राखेको आन्दोलनलाई सुदूरपश्चिम जागरण मञ्चले अनिश्चितकालीन आमहडतालमा परिणत गरेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । एक सुदूरपश्चिमको माग राख्दै छुट्टै रूपमा रिले अनसनसमेत सुरु गरेको मञ्चले दलहरूको पत्रकार सम्मेलन सकिएलगत्तै मदनचोकमा कार्यक्रम गरेको थियो ।
थारू संघर्ष समितिले पनि बुधबारदेखि आमहडतालको विरोधमा विभिन्न माग राख्दै आन्दोलन चर्काएको छ । बन्दका कारण यात्रु अलपत्र परेका छन् । दैनिक उपभोग्य सामान र औषधिको अभाव हुन थालेको छ ।

प्रतिक्रिया