२ दिनभित्र सहमतीय सरकार बन्ने

काठमाडौं, २२ वैशाख । प्रमुख राजनीतिक दलहरूले नयाँ संविधान र सहमतीय सरकार निर्माणसहितका विषयमा बिहीबार मध्यरात पाँच बुँदे सहमति गरेका छन् । ११ घन्टासम्मको अविच्छिन्न छलफलपछि राति

१२ बजे शीर्ष नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरे । सहमतिमा हस्ताक्षर हुनुअघि वर्तमान सरकारमा एमाओवादी र मधेसवादी दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष सामूहिक राजीनामा दिएका थिए । हाललाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बनाउने तर जेठ १४ अघि उनले राजीनामा गरी कांग्रेसको नेतृत्वमा अर्को सरकार बनाउने सहमतिपत्रमा उल्लेख छ । भट्टराई नेतृत्वको सरकारमा दुई दिनभित्र कांग्रेस, एमालेसहित प्रमुख दलहरू सहभागी हुने भएका छन् ।
दलहरूबीच भएको सहमतिमा भनिएको छ, ‘हालको मन्त्रिपरिषद्का सबै सदस्यले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिनभित्र विगतमा भएको सातबुँदे सहमतिबमोजिम प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिनेछ ।’
संविधान जारी गर्नुअघि नै कांग्रेसको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने र त्यो सरकारले एक वर्षभित्र राष्ट्रिय आमनिर्वाचन गर्ने दलहरूको सहमति छ । ‘२०६९ साल जेठ १४ गते अगावै नयाँ संविधान घोषणा गरिनेछ । संविधान घोषणा गर्नुअघि वर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनेछ । यो सरकारले एक वर्षभित्र राष्ट्रिय आमनिर्वाचन सम्पन्न गराउनेछ,’ सहमतिमा भनिएको छ ।
प्रमुख दलका शीर्ष नेताहरूले दलहरूबीच भएको सहमतिलाई ऐतिहासिक भन्दै संविधान निर्माणको आधार तयार भएको दाबी गरेका छन्् । दिउँसो एक बजेदेखि सेना समायोजन विशेष समितिको कार्यालयमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाच खनाल, मधेसी मोर्चाका तर्फबाट फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
पाँचबँुदे सहमतिमा तीन दिनभित्र संविधानका विवादित विषय टुंग्याउने उल्लेख छ । सहमति जुट््न नसकेका विषयमा भने संविधानसभामा प्रक्रिया अघि बढाउने पनि दलहरूबीच सहमति भएको छ । ‘संविधान निर्माणका क्रममा देखिएका राज्यको पुन:संरचना, शासकीय स्वरुपलगायतका सबै विषयलाई तीन दिनभित्र सहमतिमा टुंग्याइनेछ । सहमति हुन नसकेका विषयलाई प्रक्रियाबाट निर्णयमा लगिनेछ,’ सहमतिपत्रमा भनिएको छ ।
यसअघि डा. भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठन गर्ने मधेसी मोर्चा र तीन प्रमुख दलका शीर्ष नेताबीच सहमति भएपछि सबै मन्त्रीले बिहीबार राति सामूहिक राजीनामा दिएका थिए । दलहरूबीच विगतमा भएको सहमतिअनुसार शान्तिप्रक्रियाका बाँकी काम अघि बढाउने पनि सहमति भएको छ । सहमतिपत्रमा भनिएको छ, ‘शान्ति प्रक्रियाका बाँकी काम विगतका सहमतिबमोजिम अविलम्ब सम्पन्न गरिनेछ ।’ संविधान निर्माणको कामलाई तीव्रता दिन राजनीतिक दलका शीर्ष नेताहरूको नियमित रुपमा बैठक गर्ने पनि दलहरूबीच सहमति भएको छ ।
सहमतिको मस्यौदा निर्माण गर्न एमाओवादी अध्यक्ष दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रस महामन्त्री कृष्णप्रसाद सिटौला र मधेसी मोर्चाका गच्छदार क्रियाशील थिए । उनीहरूले तयार गरेको मस्यौदामा राति सहमति जनाइएको थियो । पाँचबुँदे सहमतिका बारेमा सबै दलका तर्फबाट सञ्चारकर्मीलाई जानकारी दिंदै कांग्रेस महामन्त्री सिटौलाले सहमतिले निर्धारित समयमा संघीय लोकतान्त्रिक संविधान निर्माण गर्ने कुराको सुनिश्चिता गरेको दाबी गरे । ‘पाँचबुँदे सहमति विगतमा भएका सबै सहमतिको उत्कर्ष रुप हो,’ महामन्त्री सिटौलाले भने, ‘विवादित सबै विषयलाई सहमतिमा टुङ्गो लगाउँदै जाने छाँै ।’
सिटौलाले मन्त्रिपरिषद्को आकारका विषयमा केही बताउन चाहेनन् । ‘मन्त्रिपरिषद् कस्तो र कत्रो बन्छ भन्ने हाम्रा लागि ठूलो कुरा होइन ।’ प्रधानमन्त्री डा. भट्टराईले दलहरूबीच महत्त्वपूर्ण सहमति भएको उल्लेख गर्दै यसले संविधान निर्माणको कामलाई अझ सहज ढङ्गबाट अघि बढाउन सजिलो बनेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष खनालले दलहरूबीच फेरि एउटा ऐतिहासिक सहमति निर्माण भएको र संविधान निर्माण हुने आशा जागेको बताए । सहमतीय सरकारविना संविधान जारी हुन नसक्ने कुरा आफूले निरन्तर उठाउँदै आएको उल्लेख गर्दै खनालले भने, ‘अब संविधान निर्धारित समयमा बन्छ भन्ने आत्मविश्वास बढेको छ ।’
भट्टराईकै नेतृत्वमा राजनीतिक सहमतिका आधारमा नयाँ सरकार बन्ने भएपछि मन्त्रीहरूले राजीनामा दिएको उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बताए । ‘सबै मन्त्रीहरूले राजीनामा गरी भट्टराईकै नेतृत्वमा सहमतिको नयाँ सरकार बनाउन सबै मन्त्रीहरूले राजीनामा दिनुभएको छ,’ श्रेष्ठले भने ।
कानुनी रूपमा अन्तरिम संविधानको धारा ३८ (२) अनुरूपको बहुमतीय प्रक्रियाबाट निर्वाचित प्रधानमन्त्री भए पनि राजनीतिक सहमतिका आधारमा ३८ (१) अनुरूपको सहमतीय सरकार मान्ने सहमति दलहरूले गरेका हुन् । अन्तरिम संविधानको ३८ (१) मा सहमतीय सरकार र ३८ (२)मा बहुमतीय सरकार गठनको प्रावधान रहेको छ ।
मधेसी मोर्चा र एमाओवादीबीचको चारबुँदे सम्झौतापछि ९ भदौ ०६८ मा भट्टराई नेतृत्वको एमाओवादी मधेसी गठबन्धन सरकार बनेको थियो । बिहीबारको सहमतिपछि भट्टराई नेतृत्वको बहुमतीय गठबन्धन टुटेको छ । एमाओवादी–मधेसी मोर्चाबीचको चारबुँदे सम्झौताको जग भत्किएपछि मात्रै सहमतिको सरकार बन्ने कांग्रेस र एमालेले अडान राख्दै आएका थिए । तर, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले चारबुँदे सम्झौताको उद्देश्यअनुसार नै सहमतिको सरकार गठनमा सहमति भएकाले आफूहरूले राजीनामा दिएको बताए । ‘शान्ति र संविधानका लागि सहमतीय सरकार गठन गर्ने चारबुँदे सहमति भएको थियो, त्यसैलाई कार्यान्वयन गर्न आजै मन्त्री पदबाट राजीनामा दिएका छाँ,’ त्रिपाठीले भने ।
दिनभर अन्योल
बुधवार भट्टराई नेतृत्वको मन्त्रिपरिषद् खाली गरी उनकै नेतृत्वको सरकारमा कांग्रेस र एमालेसमेत सहभागी हुने र त्यसलगत्तै कांग्रेस नेतृत्वमा अर्का सरकार बनाई संविधान जारी गर्ने शीर्ष नेताहरूबीच सहमति भएको थियो । तर, सो सहमतिको फरक–फरक व्याख्या गर्दै दलहरूले बिहीबार दिनभर विवाद गरेका थिए । यसबाट बुधबारको भद्र सहमति भाँडिने सम्भावना देखिएको थियो । सरकार ‘विघटन’ कि ‘पुनर्गठन’ भन्ने विषयमा दलहरूबीच विवाद बढेको थियो । भट्टराईपछि कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गर्ने भए चुनावी सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी एमालेले गरेको थियो । एमाओवादीले भट्टराई नेतृत्वको सरकार पुनर्गठन र कांग्रेस–एमालेले सरकार विघटन गर्ने सहमति भएको जिकिर गरेका थिए ।
सरकार विघटन नगर्न मधेसी मोर्चाका तर्फबाट प्रधानमन्त्री भट्टराईलाई समेत दबाब परेपछि एमालेले स्थायी समितिको बैठकमार्फत प्रधानमन्त्रीले राजीनामा नगरे सरकारमा आफू सहभागी नहुने जनाएको थियो । उसले अन्तरिम संविधानको धारा ३८ (२) अनुसार बनेको बहुमतीय सरकारमा आफू नजाने अडान राख्दै सहमतिअनुरुप धारा ३८ (१) अनुरूपको सहमतीय सरकारका लागि अघि बढ्न एमाओवादीलाई आग्रह गरेको थियो । एमाले बैठकले संविधान जारी गर्न कांग्रेस नेतृत्वमा सरकार बनाए एमालेले चुनावी सरकारको नेतृत्व पाउनुपर्ने अडान राख्ने पनि निष्कर्ष निकालेको थियो ।

दलहरूबीच भएको ५ बुँदे  सहमति
०६८ साल कात्तिक १५ गते भएको सातबुँदे सहमतिबमोजिम संविधान निर्माण कार्यलाई सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरूका बीचमा निम्निलिखित सहमति भएको छ ।
१, हालको मन्त्रिपरिषद्का सबै सदस्यले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिनभित्र विगतमा भएको सातबुँदे सहमतिबबमोजिम प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिनेछ ।
२, संविधान निर्माणका क्रममा देखिएका राज्यको पुन:संरचना, शासकीय स्वरुपलगायतका सबै विषयलाई तीन दिनभित्र सहमतिमा टुंग्याइनेछ । सहमति हुन नसकेका विषयलाई प्रक्रियाबाट निर्णयमा लगिनेछ ।
३, २०६९ साल जेठ १४ गते अगावै नयाँ संविधान घोषणा गरिनेछ । संविधान घोषणा गर्नुअघि वर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनेछ । यो सरकारले एक वर्षभित्र राष्ट्रिय आम निर्वाचन सम्पन्न गराउनेछ ।
४, शान्ति प्रक्रियाका बाँकी काम विगतका सहमतिबमोजिम अविलम्ब सम्पन्न गरिनेछ ।
५, संविधान निर्माणको कामलाई तीव्रता दिन राजनीतिक दलका शीर्ष नेताहरूको नियमित रुपमा बैठक गरिनेछ ।

प्रतिक्रिया