ग्रामीण क्षेत्रमा सडक विस्तारको लहर

इलाम, २१  वैशाख । ग्रामीण क्षेत्रमा सडक विस्तारको लहर बढेको छ । प्रत्येक वर्षको अन्त्यतिर सडक विस्तारको क्रम बढ्ने गर्छ ।
यहाँ जिविसले ५६ वटा सडक निर्माण गरिरहेको छ । जिविसको चालु योजनाका साथै योजना नपरेका स्थानमा उपभोक्ता आफैंले घरलौरी रकम उठाएर सडक विस्तार गरिरहेका सोयाङ गाविसका प्राविधिक सहायक बन्धु राईले बताए ।
उनका अनुसार सोयाङमा मात्र यो वर्ष करिब १० लाख बराबरको स्काभेटरको प्रयोग गरी सडक विस्तार गरिएको छ । यसरी नै जिल्लाका अन्य गाविसमा पनि ग्रामीण सडकको विस्तार गर्ने क्रम उत्तिकै बढेको छ ।
ग्रामीण सडक विस्तारकै लागि जिल्लामा एक दर्जनको हाराहारीमा भाडाका स्काभेटर गाउँगाउँमा चलिरहेको स्काभेटर सञ्चालक निरोज खड्गी बताउँछन् । पछिल्लो समयमा जिल्लाका अधिकांश गाउँमा हिउँद याममा गाडी पुग्ने बाटो निर्माण भइसकेका छन् ।
जिल्लाका ग्रामीण क्षेत्रसम्म सडक विस्तार गर्ने उद्देश्यले जिविसको केन्द्रीय सडक निर्माणअन्तर्गत चालु आर्थिक वर्षमा सडकतर्फ १८ वटा, विकास अनुदानतर्फ १८ वटा, केन्द्रीय सडकअन्तर्गत पुँजिगत सडक कार्यक्रमतर्फ पाँचवटा, केन्द्रीय सडक योजना कार्यक्रमअन्तर्गत ११ वटा र जनसहभागितामा आधारित चारवटा गरी ५६ वटा सडक निर्माण भइरहेको जिल्ला विकास समिति इलामले जनाएको छ ।
केन्द्रीय सडकअन्तर्गत चालु खर्चतर्फ ८६ लाख ९६ हजार, विकास अनुदानअन्तर्गतको सडकलाई ५८ लाख ७९ हजार पाँच सय ९२, केन्द्रीय सडकअन्तर्गत पुँजीगत सडक कार्यक्रमअन्तर्गत ४५ लाख, जनसहभागितामा अधारित योजनालाई ३१ लाख बजेट विनियोजन गरेको थियो ।
जिविसले केन्द्रीय सडकअन्तर्गत पुँजीगत सडक कार्यक्रममा फिक्कल–गुप्ती सडकमा २५ लाख, गुप्ती–नामसालिङ माईखोलामा पाँच लाख, नयाँबजार–प्याङ सडकमा पाँच लाख, प्याङ–जमुना–माबु सडकमा पाँच लाख र गुप्ती–नयाँबजार सडकमा पाँच लाख विनियोजन गरेको थियो । ती सडकको चैत मसान्तसम्ममा ३३ प्रतिशत काम सकिएको स्थानीय विकास अधिकारी सुमन घिमिरेले बताए ।
केन्द्रीय सडकअन्तर्गत चालुतर्फका १८ वटा योजनामा देउराली–जितपाले–गोरुवाले, धितालभञ्ज्याङ–बारुङ–गजुरमुखीधाम, इनपा–भाङ्टार–योयाक, तोरीबारी–चुलाचुली–लक्ष्मीबाँध–महमाई लोकमार्ग, बिक्री–सुलुबङ्–जमुना, बिब्ल्याँटे–रुल्लुक–प्याङ पञ्चमी र छाँगे–गैरीगाउँ–टाहारी–जमुना रहेका छन् ।
विकास अनुदानका १८ वटा सडकमध्ये विभिन्न आठवटा सडकको काम सम्पन्न भइसकेको छ ।
जिविसले चालु आवमा सडक योजनाका लागि करिब तीन करोड ६५ लाख विनियोजन गरेकामा चैत मसान्तसम्ममा दुई करोड ४७ लाख ७८ हजार खर्च भइसकेको आन्तरिक लेखा शाखाका प्रदीप चापागाईंले बताए ।

प्रतिक्रिया