सुकुम्बासीले सरकारी टोली फेरि फर्काए

काठमाडौं,  २१ वैशाख । असली सुकुम्बासी पहिचान र राहत वितरणका लागि थापाथली पुगेको सरकारी टोलीलाई सुकुम्बासीले पुन: फर्काइदिएका छन् । टोली बिहान ११ बजे नदी किनार पुग्नासाथ महिला र केटाकेटीले जुलुस निकालेर ‘हटाउन पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए ।
सुरक्षाकर्मी लिएर गए पनि टोलीले काम गर्न नसकेपछि दिउँसो फिर्ता भएको अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेतले बताए । सुकुम्बासीले
तत्काल जग्गाको लालपुर्जा दिए मात्रै हट्ने तर १५ हजार रुपियाँ नलिने र नहट्ने अडान राखेका थिए ।
‘असली सुकुम्बासीको पहिचान र राहत दिन गएका थियाँ तर महिला र केटाकेटी अघि सारेर अवरोध पुर्‍याइयो,’ अध्यक्ष बस्नेतले सौर्यसँग भने ‘यसले उनीहरु नै समस्यामा पर्छन् ।’ टोली ३ वैशाखमा पनि बस्तीमा गएको थियो । त्यतिखेर सुकुम्बासीले फाइल नै कब्जामा लिएर च्यातेका थिए ।
दोस्रोपटक समेत अवरोध भएपछि भवन निर्माण विभागले बिहीबारको बैठकपछि मात्र कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिने भएको छ । ‘अबको योजना बैठकले तय गर्छ,’ विभागका सुपरिटेन्डेन्ट इन्जिनियर शम्भु केसीले भने, ‘यसरी नै आउनेजाने गरिरहँदा झन् समस्या देखिने भयो ।’
४ फागुनमा मन्त्रिपरिषद्ले असली सुुकुम्बासीको घर नम्बरिङ गरेर तत्काल प्रतिपरिवार १५ हजार रुपियाँ वितरण गर्ने निर्णय गरेको थियो । यही निर्णयपछि टोली सुकुम्बासी बस्ती पुगेको हो । छाप्रामा रहेका एक परिवारलाई भाडामा बस्दा तीन महिनाका लागि १५ हजार रुपियाँ राहत र त्यसपछि जग्गा व्यवस्था गरिदिने सरकारी योजना छ ।
थापाथली र टेकुका एक सय ९० परिवारमा सुकुम्बासी पहिचानपछि नम्बरिङ गरेर विवरणअनुसार सही ठहरिएकालाई सात दिनसम्म छाप्रो खाली गर्ने कागज गराएर रकम प्रदान गरिने योजना टोलीको थियो । सरकारले डेढ महिनाअघि गरेको सुकुम्बासी प्रमाणीकरणअनुसार तिलगंगादेखि टेकुसम्म नदीका जग्गा अतिक्रमण गरेर बसेका एक हजार ८४ परिवार सुकुम्बासी छन् । तीमध्ये थापाथलीको प्रसूतिगृह आसपासमा ७० र टेकुमा एक सय २० गरी एक सय ९० लाई पहिलो चरणमा राहत वितरण गरेर हटाउने प्रक्रिया सुरु गर्न लागिएको हो ।
समितिका अनुसार काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा र धोबीखोलामा करिब तीन हजार पाँच सय छाप्रामा करिब १५ हजार सुकुम्बासी छन् ।

प्रतिक्रिया