कांग्रेस बैठकमा बबन्डर

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसद्को विशेष अधिवेशन आह्वानका लागि हस्ताक्षर संकलन गर्न बोलाएको दलको बैठकमा तीव्र विवाद र आरोप प्रत्यारोप भएको थियो । हस्ताक्षर संकलन गर्ने/नगर्ने विषयमा नेताहरूबीच तीव्र विवाद भएको हो ।
पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षसहित बैठकमा बोल्ने अधिकांश सभासद्ले तत्काल प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नहुने धारणा राखेपछि बैठकले कुनै निर्णय लिन सकेन । संसदीय दलका नेता रामचन्द्र पौडेलले आफ्नो दलको नेतृत्वमा सरकार गठनका लागि अविश्वास प्रस्ताव ल्याउन सभासद्लाई हस्ताक्षर गर्न आग्रह गरेका थिए तर सभासद्हरू भने पौडेलको प्रस्तावको विपक्षमा उभिए ।
सभासद्हरूले संविधानसभाको म्याद सकिन केही दिन मात्र बाँकी रहेको उल्लेख गर्दै अहिले सरकार परिवर्तनमा लाग्न नहुने धारणा राखेका थिए । उनीहरूले दलहरूबीच निर्माण हुन लागेको सहमतिको वातावरण बिग्रने चेतावनी दिँदै हस्ताक्षर अभियान रोक्न आग्रह गरे ।
देउवा पक्षले पार्टीका तीन नेताको सहमतिमा निर्णय लिन आग्रह गर्दै अविश्वास प्रस्तावलाई अहिले अघि नबढाउन नेतृत्वलाई सुझाब दिएका थिए । उनीहरूले पार्टीभित्रको विवाद तीव्र रहेका बेला नेताहरूको सहमतिविपरीत हस्ताक्षर अभियान सुरु गरेर दललाई पनि विभाजन गर्न लागेको आरोप लगाए ।
देउवा पक्षका नेताहरूले अहिले अविश्वासको प्रस्तावका लागि प्रक्रिया अघि नबढाउन आग्रह गरेपछि महामन्त्री प्रकाशमान सिंहनिकट सभासद् कृष्णा अमात्यले ‘हस्ताक्षर गर्न मन नलाग्नेले नगर्न’ चुनौती दिएकी थिइन् । अमात्यको चुनौतीमा संसदीय दलका नेता पौडेलले कुनै प्रतिक्रिया नदिएपछि संसदीय दललाई विभाजन गर्न लागेको भन्दै देउवानिकट सभासद्ले कडा आपत्ति जनाए ।
अमात्यको भनाइलाई संसदीय दलका नेताले समर्थन जनाएको भन्दै सभासद् ध्यानगोविन्द रञ्जितले पौडेलको धारणा माग गरेका थिए । निकै आक्रोशित रूपमा प्रस्तुत भएका रञ्जितले तीन नेताको सहमतिविना कुनै निर्णय नलिन चेतावनी दिए । उच्च रक्तचापबाट पीडित रञ्जित बोल्दाबोल्दै मुखबाट रगत निस्केको एक नेताले जानकारी दिए ।
त्यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसको नेतृत्वमा सरकार गठनका साथै संसद्को अधिवेशन बोलाउन आवश्यक निर्णय लिने अधिकार तीन शीर्ष नेतालाई दिइएको उल्लेख गर्दै उनीहरूको सहमतिमा आएको प्रस्ताव मात्र आफू मान्न तयार रहेको बताएका थिए । सभासद् एवं केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टीभित्रको विवाद समाधान गरेर अघि बढ्न नेतृत्वलाई आग्रह गरे । उनले अन्य दल एक भएर अघि बढेका बेला पार्टीभित्र सहमति निर्माण नभई अविश्वास प्रस्तावको प्रक्रिया अघि बढाउन नहुने धारणा राखे ।
केन्द्रीय सदस्य नरहरि आचार्यले संविधानसभा सदस्यलाई पार्टीका नेताहरूले खेलौना बनाएको आरोप लगाए । ‘पार्टी नेताको खेलौना हुन सक्दैन,’ आचार्यले भने, ‘हामीले सरकार होइन संविधान बनाउन ध्यान केन्द्रित गर्नुपर्छ ।’ पार्टीका वरिष्ठ नेता देउवातर्फ लक्षित गर्दै आचार्यले संसदीय दलको बैठकमा केही नेता महिनौंदेखि नआएको आरोप लगाएका थिए ।
केन्द्रीय सदस्य एवं सभासद् धनराज गुरुङले संविधान निर्माणमा केन्द्रित हुने पार्टीको निर्णयअनुसार अन्तरिम संविधानको धारा ७० संशोधनका लागि पनि नेताको मुख ताक्न नहुने धारणा राखेका थिए । सभासद् नेताको गोटी र प्यादा मात्र नभएको उल्लेख गर्दै गुरुङले भने, ‘तीन नेताले मात्र निर्णय गर्ने हो भने हाम्रो औचित्य समाप्त हुन्छ ।’
४० प्रतिशतले गरे हस्ताक्षर
तीव्र विवादका बाबजुद कांग्रेसले आफ्ना सभासद्को हस्ताक्षर संकलनलाई बुधबार जारी राखेको थियो । संसदीय दलका नेता पौडेलको निर्देशनअनुसार प्रमुख सचेतक लक्ष्मण घिमिरेको कार्यकक्षमा कांग्रेसले आफ्ना सभासद्लाई हस्ताक्षर गराएको छ ।
बुधबारसम्म कांग्रेसका ४० प्रतिशत सभासद्ले हस्ताक्षर गरेका छन् । बैठकको सुरुमा नै संसदीय दलका नेता पौडेलले सभापति कोइराला र वरिष्ठ नेता देउवाको सहमतिमा हस्ताक्षर थालेको जनाएका थिए । नेताहरूको छलफलअनुसार हस्ताक्षर सुरु गरेका पौडेलले सभासद्हरूलाई बताएपछि संसदीय दलको बैठकअघि नै देउवानिकट नेता बालकृष्ण खाँण, महालक्ष्मी उपाध्यायलगायतले हस्ताक्षर गरेका थिए । तर, विमलेन्द्र निधि, रमेश लेखकसहितका नेताले देउवासँग कुनै छलफल नभएको जानकारी गराएपछि बैठकमा पछि आउने नेताहरूले भने हस्ताक्षर गरेनन् । केन्द्रीय सदस्य एवं सभासद् महेन्द्र यादवले सभासदको विरोधपछि हस्ताक्षर संकलन रोकिएको दाबी गरे ।
एमाले नेताहरूको उक्साहटमा संसदीय दलका नेता पौडेल आफू प्रधानमन्त्री बन्ने अभियानमा लागेको कांग्रेसका एक नेताको आरोप छ । ती नेताले भने, ‘एमालेका मित्रहरूलाई एमाओवादी र कांग्रेस निकट हुन लागे भन्ने चिन्ता भएका बेला पौडेललाई उपयोग गरेर सहमतिको सरकार निर्माण हुने वातावरण खलबल्याउने काममा एमाले सफल भएको छ ।’
देउवा पक्षको छुट्टै भेला
संसद्को अधिवेशन बोलाउन र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सुरु गरिएको हस्ताक्षर अभियानको विषयमा छलफल गर्न वरिष्ठ नेता देउवा पक्षको छुट्टै भेला बिहीबार बिहान बस्ने भएको छ । बिहान १० बजे देउवानिकट सभासद्को भेला बोलाइएको हो । भेला नेता रमेश लेखकको कार्यकक्षमा बस्ने एक नेताले जानकारी दिए ।
तत्काल संसद बोलाउन माग
कांग्रेसले व्यवस्थापिका–संसद बैठक तत्काल बोलाउन सरकारसँंग माग गरेको छ । सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले अन्तरिम संविधानको धारा ७० संशोधनका लागि तत्काल बैठक बोलाउन माग गरेको हो ।
अन्तरिम संविधानको वर्तमान व्यवस्थाअनुसार १४ जेठमा संविधान जारी हुन नसक्ने उल्लेख गर्दै दलको बैठकले प्रक्रिया छोट्याएर संविधान जारी गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिएको छ । सरकारले तत्काल बैठक आह्वान नगरे विशेष अधिवेशनका लागि समावेदन गर्ने बैठकको निर्णय छ ।
‘अब २६ दिन मात्र बाँकी रहेकाले संविधान संशोधनविना संविधान निर्माण गर्न समय अपुग हुने निश्चित छ,’ दलका प्रवक्ता नवीन्द्रराज जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधनलाई उपेक्षा गर्ने कुराबाट एकीकृत माओवादी र सरकार निर्धारित समयमा संविधान निर्माण गर्न चाहँदैन भन्ने पुष्टि भएको छ ।’
सरकार समय त्यतिकै बिताएर १४ जेठपछि संवैधानिक शून्यता र  राजनीतिक अन्योलतर्फ धकेली मुलुकलाई गम्भीर दुर्घटनामा पुर्‍याउन रहस्यमय व्यूहरचना गर्न उद्यत रहेको आरोप कांग्रेसले लगाएको छ । सरकारले अन्तरिम संविधानको धारा ७० संशोधनका लागि १० वैशाखमा संशोधन प्रस्ताव पेस गरेको छ ।

प्रतिक्रिया