लादेनका दस्तावेज सार्वजनिक हुने

न्युयोर्क, २०  वैशाख । अलकायदाका सर्वोच्च नेता ओसामा बिन लादेनको हत्यापछि अमेरिकी सैनिकले बरामद गरेका लादेनका दस्तावेज सार्वजनिक गरिने भएका छन् । पाकिस्तानी सहर एबट्टावादस्थित एक घरमा वर्षौंदेखि लुकेर बस्दै आएका लादेन एक वर्षअघि अमेरिकी सैनिकको कारबाहीमा परी मारिएका थिए । लादेनको मृत्युपछि घरको खानतलास गर्दा फेला परेका दस्तावेज सार्वजनिक गरिने भएको हो ।
गत वर्षको मे २ मा अमेरिकी सेनाको विशेष समूह ‘नोवी सिल्स कमान्डो’ ले लादेनमाथि कारबाही गरी दस्तावेज बरामद गरेको थियो । दस्तावेजमा अलकायदाका नेता र आफ्ना सहयोगीसँग लादेनले गरेको कुराकानीको बेहोरा समेटिएको छ । लादेनले हातले लेखेको डायरी पनि सार्वजनिक गरिनेछ ।
दस्तावेजमा अलकायदाको नाम परिवर्तन गर्ने सोच लादेनले बनाएको पाइएको थियो । अलकायदाका वरिष्ठ नेतामध्ये धेरैको मृत्यु भएपछि लादेनले संगठनको नाम परिवर्तन गर्ने सोच बनाएको बताइएको छ । फेला परेका दस्तावेज इन्टरनेटमा अनलाइन उपलब्ध गराइनेछन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका आतंकवाद निरोधक प्रमुख जोन बर्नेनले युएस मिलिट्री एकेडेमीको आतंकवाद निरोधक केन्द्रको वेबसाइटमा दस्तावेज राखिने जानकारी दिएका छन् । (बिबिसी)

प्रतिक्रिया