प्रतिपक्षीमाझ फुट

नयाँदिल्ली :  भारतका विपक्षी दलहरूको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडिए) मा आबद्ध दलहरूबीच विवाद उत्पन्न भएको छ । एनडिएको मुख्य घटक भारतीय जनता पार्टी (भाजपा) ले आगामी राष्ट्रपतीय निर्वाचनमा कांग्रेस आईका उम्मेदवारलाई सहयोग नगर्ने सार्वजनिक गरेपछि एनडिएमा आबद्ध अन्य दल भजपासँग रुष्ट भएका छन् ।
एनडिएमा आबद्ध जनता दल–संयुक्तले भाजपाको व्यवहार एकलकाँटे भएको भन्दै विरोध गरेको छ । आफूहरूसँग परामर्श नगरी भाजपाले ‘एकलौटी’ निर्णय गरेको भन्दै जनता दलका अध्यक्ष शरद यादवले आपत्ति जनाएका छन् । ‘उनीहरू एक्लै निर्णयमा पुग्न सक्छन् भने हामी पनि उनीहरूको साथ छोड्न स्वतन्त्र छौँ,’ यादवले भने । कांग्रेस उम्मेदवारलाई सहयोग नगर्ने भाजपाको निर्णय एनडिएको आधिकारिक ‘लाइन’ नभएको उनले प्रस्ट पारेका छन् ।
समाजवादी पार्टी अथवा अन्य कुनै पनि दलले पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामलाई राष्ट्रपतिको उम्मेदवार बनाए सहयोग गर्न आफ्नो दल तयार रहेको भाजपा नेत्री सुष्मा स्वराजले सोमबार  बताएकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया