११ हजार मेट्रिक टन मल अपुग

काभ्रे, २० वैशाख । सरकारले मागअनुसार रासायनिक मल समयमै उपलब्ध नगराउँदा कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलबाट सेवा लिने पाँच जिल्लाका किसान समस्यामा परेका छन् ।
धुलिखेल शाखाबाट काभ्रे, रामेछाप, ओखलढुंगा, सिन्धुपाल्चोक र दोलखाका किसानले अनुदानको मल सहकारीमार्फत लिँदै आएका छन् । गत वर्ष जेठ/असारको समयमा साढे १२ हजार मेटिूक टन मल बिक्री गरेको कम्पनीले यो वर्ष एक हजार पाच सय मेट्रिक टन मल मात्रै प्राप्त गरेको छ । सो मलमध्ये पनि साढे तीन सय मेट्रिक टन आउँदै गरेको कम्पनीका प्रमुख हरिप्रसाद ढकालले बताए । गत वर्षको तुलनामा यो वर्ष किसानलाई  खेती लगाउने समयमा ११ हजार मेट्रिक टन मल अपुग भएको कम्पनीले जनाएको छ । मकै र चैतमा रोपेको धान गोड्ने समयमा मल अभाव भएपछि किसान मलको आशको दिनहु कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय धुलिखेल धाउने गरेका छन् । बजारमा उपलब्ध हुने मल अनुदानको भन्दा दोब्बर महङ्गो पर्ने गरेको छ । रामेछाप, ओखलढुङ्गादेखि मल लिन आएका किसानले एक साता कुर्दा पनि मल नपाएको बताए ।
अनुदानमा युरिया प्रतिबोरा नौ सय ९७ र डिएपी एक हजार ६ सय ९७ रुपियाँ पर्ने गरेको छ । सहकारीले ढुवानी खर्च मात्रै जोडेर कृषकहरूलाई सहज रूपमा उपलब्ध गराउँदै आएका छन् । तर अनुगमन हुन नसक्दा सहकारीका नाममा मल लैजाने केही व्यक्तिले किसानलाई उपलब्ध नगराई ठूला पसलमा  बिक्री गर्ने गरेका छन् । मल लैजान नसक्ने क्षेत्रका सहकारीले पनि कृषि सामग्री कम्पनीबाट गत वर्ष अनुदानको मल लिएका थिए ।
मेथिन्कोट गाविसमा रहेको वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड) द्वारा स्थापना गरिएको जोरसल्ला तरकारी बिउ उत्पादन सहकारी संस्थाले गत वर्ष किसानलाई दुई हजार आठ सय बोरा मल बिक्री गरेको अध्यक्ष रुद्र मिजारले बताए । तर, यो वर्ष दुई सय बोरा मात्रै मल उपलब्ध गराएको मिजार बताउँछन् । सरकारले सात लाख मेट्रिक टनमध्ये डेड लाख मेट्रिक टन रासायनिक मललाई मात्रै अनुदान दिएको छ ।

प्रतिक्रिया