बन्द फिर्ताको दबाब अस्वीकार

कैलाली, २० वैशाख । पाँच दिनदेखि जारी अखण्ड सुदूरपश्चिम आन्दोलनले जनजीवन प्रभावित भए पनि बन्दकर्ताले आन्दोलन फिर्ता लिन मानेका छैनन् । विभिन्न संघसंगठन तथा राजनीतिक दलले बन्द फिर्ता लिन गरेको आग्रह अस्वीकार गर्दै बन्द जारी भएपछि सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ ।
तीन दिनदेखि राजनीतिक दल, नागरिक समाज, प्रहरी प्रशासनको अलगअलग तथा संयुक्त बैठकमा आन्दोलनकारीलाई बन्द फिर्ता लिई समस्याको समाधान संवाद र वार्ताबाट गर्न आग्रह गरिएको हो । प्रेस विज्ञप्ति र प्रत्यक्ष भेटेर आह्वान गरिए पनि आन्दोलनकारीले सम्पूर्ण क्षेत्र बन्द जारी राख्दा जनजीवन निकै अस्तव्यस्त भएको कैलालीका सिडिओ कैलाशकुमार बजिमयले बताए ।
उनले बैठकमा राजनीतिक दलका प्रतिनिधिले दलको सहभागिता नरहेको बताएका तर आन्दोलनमा तिनै दलका नेता कार्यकर्ताको सहभागिता रहने गरेकाले बन्द खुलाउन झन् समस्या भएको बताए । कुनै एक वर्गको जातीय पहिचानसहित संघको निर्माण नगरी हालकै सिंगो सुदूरपश्चिमलाई संघीयतामा समेट्नुपर्ने मागसहित स्वत:स्फूर्त रूपमा अखण्ड सुदूरपश्चिमको आन्दोलनमा उत्रेको आन्दोलनकारीले बताएका छन् ।
एकीकृत नेकपा (माओवादी)ले राज्य पुन:संरचना समितिमा ल्याएको १० प्रदेशको प्रस्तावमा सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई टुक्रयाएर सुदूरपश्चिमको भावनामा चोट पुर्‍याएकाले केन्द्रीय राजनीतिक नेतृत्वले अखण्ड सुदूरपश्चिम तथा बहुपहिचानसहितको संघ बनाउने प्रतिबद्धता जाहेर नगर्दासम्म बन्द यथावत् रहने नेपाली कांग्रेस धनगढी नगरसचिव तथा नेविसंघ कैलाली सचिव केशव मिश्रले बताए ।
कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्की तथा कञ्चनपुर, डोटी, अछामलगायत जिल्लामा आन्दोलनकारी लाठी लिएर बन्दमा उत्रिएका छन् । उनीहरूले नाराबाजी तथा कोणसभा पनि गरेका छन् । सुदूरपश्चिम भित्रिने र बाहिरिने मुख्य द्वार अत्तरियामा आन्दोलनकारीले चौबिस घन्टा सडकमा उपस्थिति जनाएर यातायात अवरुद्ध पारेका छन् । धनगढी, महेन्द्रनगर तथा पहाडबाट रातिका समयमा यातायातका साधन चल्न थालेपछि बन्दकर्ताले सडकमै बसेर अवरोध गरेका हुन् । आन्दोलनकारीले गन्तव्यसम्म जान नपाएर अलपत्र यात्रुलाई अत्तरियामा खाना पकाएर खुवाएका छन् ।
द्वैध चरित्रले समस्या
सुदूरपश्चिमलाई मौजुदा संरचना कायम गरी संघीय राज्य बनाइनुपर्ने तथा कैलाली र कञ्चनपुरलाई टुक्रयाएर थरुहट वा थारूवान राज्य बनाउनुपर्छ भन्ने नेताहरूको द्वैधचरित्रका कारण समस्या आएको स्थानीय बुद्धिजीवीले बताएका छन् ।
जनतापिच्छे फरक कुरा गरेर वर्षौंदेखि आपसमा मिलेर बसेका समुदायलाई भड्काएर लडाउन खोजेको उनीहरूको भनाइ छ । नेताहरूले आदिवासी समुदायमा जाँदा कैलाली र कञ्चनपुर टुक्रयाएर अलग्गै राज्य तथा पहाडी समुदायमा जाँदा अखण्ड सुदूरपश्चिम नै ठीक भनेर भोटको राजनीति गरेर साम्प्रदायिक दंगा फैलाउने काम गरेको कैलाली नागरिक समाजका धर्मराज पाठकले बताए । उनले राजनीतिक नेतृत्वले समयमै सोचेर ठोस कदम नचाले भयावह स्थिति आउने बताए । सुदूरपश्चिमबाट संविधानसभामा प्रत्यक्ष र समानुपातिक गरी ३५ को प्रतिनिधित्व रहेको छ ।
सुदूरपश्चिमबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राप्रपाका नेता पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेकपा (एमाले)का भीम रावल, एकीकृत नेकपा (माओवादी)का लेखराज भट्टलगायतका नेता अखण्ड सुदूरपश्चिमको पक्षमा छन् ।

प्रतिक्रिया