सुकी संसद् जाने

याङ्गुन : म्यानमारको उपनिर्वाचनमा अत्यधिक बहुमत हासिल गरेकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकीको पार्टी ‘नेसनल लिग फर डेमोक्रेसी’ संसद्को आगामी बैठकमा सहभागी हुने भएको छ । शपथमा प्रयोग हुने भाषाप्रति असहमति जनाउँदै उनको पार्टीले बैठक बहिष्कार गर्दै आएको थियो ।
बुधबारबाट सुरु हुने संसद्मा पाँच सय ९२ सदस्य छन् । सोमबार नेत्री सुकीले आफ्नो दल छिटै संसद्मा सहभागी हुने बताएकी छन् । आफूहरू संसद्मा भएको जनताले देख्न चाहेकाले यस्तो निर्णय गरिएको जानकारी उनले दिएकी छन् । ‘हाम्रा मतदाताले हामीलाई संसद्भित्र हेर्न चाहेका छन्,’ उनले भनिन् ।  सुकीको दलले ४५ निर्वाचन क्षेत्रमध्ये ४२ स्थानमा विजय हासिल गरेको थियो । निर्वाचन निष्पक्ष र विश्वसनीय भएको भन्दै पश्चिमा राष्ट्रले प्रशंसा गरेका थिए ।
नाकाबन्दी हटाउन आग्रह
राष्ट्र संघ महासचिव बान कि मुनले म्यानमारमाथिको नाकाबन्दी हटाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।  म्यानमारमा राजनीतिक सुधार कार्य सन्तोषजनक रहेकाले नाकाबन्दी हटाई अवस्था सहज बनाउन उनले यस्तो आग्रह गरेका हुन् । म्यानमार संसद्मा सोमबार मन्तव्य राख्दै उनले भने, ‘विश्व समुदायलाई म्यानमारमाथिको नाकाबन्दी एवं प्रतिबन्ध हटाउन वा सहजीकरणतर्फ लैजान म विश्व समुदायसँग आग्रह गर्दछु ।’ महासचिव मुनले म्यानमारका राष्ट्रपति थाँ सेन र विपक्षी नेत्री आङ्सान सुकीसँग पनि भेट गरेका छन् ।    युरोपेली संघ, अमेरिका, बेलायतलगायत पश्चिमी राष्ट्रहरूले म्यानमारमाथिको नाकाबन्दी अन्त्य गर्ने वचन दिए पनि यसको पूर्ण कार्यान्वयन भइसकेको छैन । तर, ती राष्ट्रले म्यानमारविरुद्ध लगाइएको प्रतिबन्ध खुकुलो पार्दै लगेका छन् । (एएफपी)

प्रतिक्रिया