केन्द्रलाई ममताको चेतावनी

कोलकाता, १९ वैशाख । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले केन्द्र सरकार ढाल्ने सोच आफूले नबनाएको बताएकी छन् । तर, घुमाउरो पारामा उनले संयुक्त प्रगतिशील गठबन्धन (युपिए)को केन्द्र सरकारलाई काम गर्ने शैली सच्याउन चेतावनी दिएकी छन् । राजनीतिबारे महत्त्वपूर्ण निर्णय गर्नुअघि सहयोगी दलसँग परामर्श गर्न उनले केन्द्र सरकारलाई सुझाएकी छिन् ।
बिबिसीसँग कुरा गर्दै उनले आफ्नो दल तृणमूल कांग्रेस केन्द्रमा सत्तारुढ युपिए गठबन्धनको प्रमुख घटक भएकाले केन्द्रमा केही गल्ती भए यसबारे आफूले चासो राख्ने प्रस्ट पारिन् । उनले भनेकी छन्, ‘म चाहन्नँ कि हरेक ६ महिना, एक वर्ष अथवा दुई वर्षमा सरकार परिवर्तन होस् तर गठबन्धन सरकारले सहयोगी दलहरूसँग परामर्श लिनैपर्छ, यस विषयमा चासो राख्नु हाम्रो नैतिक दायित्व हो ।’
भारतीय राजनीतिमा क्षेत्रीय दलको प्रभाव बढिरहेको टिप्पणी गर्दै उनले भनिन्, ‘कांग्रेस र भाजपाले देशका कैयौँ क्षेत्रमा आफ्नो आधार गुमाइसकेका छन्, अब एउटा दलको राज चल्न सक्दैन ।’ हरेक क्षेत्रको आ–आफ्नै आकांक्षा रहेको उल्लेख गर्दै यसलाई पूरा गर्न मानिसले राष्ट्रिय दलमाथि भन्दा क्षेत्रीय दलमाथि बढी विश्वास गरेको दाबी गरिन् ।
केही समयअघि केन्द्र सरकारले खुद्रा क्षेत्रमा विदेशी लगानीलाई अनुमति दिने निर्णय गरेपछि मुख्यमन्त्री बनर्जीले यसको विरोध गरेकी थिइन् । विरोधपछि निर्णय फिर्ता लिन केन्द्र सरकार बाध्य भएको थियो । केन्द्र सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोप्रति पनि उनको दल तृणमूल कांग्रेसले विरोध गर्दै आएको छ ।
महँगीबारे टिप्पणी गर्दै बनर्जीले भनिन्, ‘महँगी अधिक भएको छ । मूल्य बढाउन सजिलो छ तर यो समस्याको समाधान भने होइन ।’ देशको आधा हिस्सा स–साना पसलमाथि निर्भर रहेको टिप्पणी गर्दै उनले खुद्रा क्षेत्रमा विदेशी लगानी खुला गरे, यसले देशभित्र रोजगारका अवसर नस्ट गर्ने भएकाले आफूहरूले यसको विरोध गरेको जानकारी दिइन् ।
आफ्नो काम गर्ने तरिकाबारे उनले भनिन्, ‘केही राजनीतिज्ञ आफ्ना वाचा पूरा गर्दैनन् । तर, म सतप्रतिशत प्रतिबद्ध भएर काम गर्छु । गत दस महिनाभर मैले जति कुरा गरेँ, तीमध्यै ९९ प्रतिशत पूरा गरिसकेको छु ।’ कामप्रतिको कटिबद्धता आफ्नो सबैभन्दा प्रमुख गुण भएको पनि उनले बताइन् । (बिबिसी)

प्रतिक्रिया