मालिङ्गासामु डेक्कन धराशायी

मुम्बई, १९ वैशाख । लासिथ मालिङ्गाको प्रभावपूर्ण घातक बलिङपछि आइतबार राति मुम्बई इन्डियन्सले ‘लो स्कोरिङ गेम’ मा डेक्कन चार्जर्सलाई पाँच विकेटले सजिलै पराजित गर्‍यो । बुढीऔंला भाँच्ने बलर ‘टो क्रसर’ भन्ने उपनाम पाएका मालिङ्गाले ३.४ ओभरमा केवल १६ रन खर्चेर चार विकेट लिएका थिए । चार्जर्सका लागि डेल स्टेनले पनि डरलाग्दो बलिङ गर्दै चार ओभरमा केवल १० रन खर्चेर दुई विकेट लिए ।
लगातार पाँच पराजयको शृंखला गत बिहीबार मात्र तोड्न सकेको डेक्कन चार्जर्स मुम्बईविरुद्ध फेरि आफ्नो त्यही अवस्थामा फर्कियो, जुन यस आइपिएल सिजनमा उसले आफूलाई प्रस्तुत गरेको छ– नीरस र र उदेकलाग्दो । फेरि एकपटक राम्रो सुरुआत गरेर पनि इनिङको अन्त्यतिर गल्र्यामगुर्लुम ढल्यो । फेरि एकपटक आफ्नो हविगतका लागि उनीहरू आफै दोषी सावित भए ।
वान्खेडेको हरियो पिचमा पनि उनीहरूले स्पिनर हरभजन सिंहलाई ४–०–१३–२ को बलिङ विश्लेषण बनाउन दिए । चार्जर्स ब्याट्सम्यानहरूले वाइड बलमा पनि प्रहार गर्दै रहे र धमाधम आउट
हुँदै रहे । थप विडम्बना के भइदियो भने उनीहरूसित डेल स्टेनको स्तरसित मिल्ने दोस्रो बलर पनि भएन ।
चार्जर्स इनिङमा पार्थिव पटेल र शिखर धवनले छैटौं ओभरसम्म ३७ रन जोडेका थिए, जुन आफैमा नराम्रो संख्या होइन तर त्यसपछि उनीहरूले ७.३ ओभरमा ६ विकेट गुमाउँदै केवल २९ रन मात्र जोड्न सके । चार्जर्स टोलीले १८.४ ओभरमा अलआउट हुनुअघि केवल १०० रन मात्र बनाउन सक्यो । उसका लागि सर्वाधिक २९ रन शिखर धवनले बनाए भने जेपी डुमिनी २५ रनमा नटआउट रहे । पटेलले १९ र आशीष रेड्डीले १० रन बनाए भने अरू कुनै खेलाडीले दोहोरो अंक छुनै सकेनन् । १०१ रनको विजय लक्ष्य पछयाएको मुम्बईको इनिङमा स्टेनले पहिलो ओभरको पहिलो बलमै ओपनर रिचर्ड लेभीलाई बोल्ड गरेर सनसनी मच्चाइदिएका थिए । त्यसपछि पनि स्टेनले आफ्नो प्रत्येक बलमा मुम्बई ब्याट्सम्यानहरूलाई लगातार असहज अवस्थामा पारिरहे ।
अर्का ओपनर सचिन तेन्दुलकर १४ बलमा १४ रन बनाएर पेभेलियन फर्के । जेम्स फ्रेङ्कलिनले १३ रन बनाए भने अम्बाटी रायादु १९ रनमा नटआउट रहे । मुम्बईका लागि सबैभन्दा बढी रन रोहित शर्माले बनाए । शर्माले डुमिनीको बलमा क्याच हुनुअघि चार चौका र एक छक्कासहित ४८ बलमा ४२ रन बनाए । मुम्बईले १८.१ ओभरमा पाँच विकेट गुमाएर विजय लक्ष्य हासिल गर्‍यो ।
यो जितसँगै अंक तालिकामा मुम्बई तेस्रो स्थानमा यथावत् छ । पहिलो स्थानमा दिल्ली डेयरडेभिल्स र दोस्रोमा कोलकाता नाइट राइडर्स छन् । अहिलेसम्म केवल एउटा मात्र जित हासिल गर्न सकेको डेक्कन अंकतालिकामा अन्तिम स्थानमा छ । पिटिआई

प्रतिक्रिया