कमिसन नदिने कर्मचारी थुनिए

रौतहट, १९ वैशाख । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. अखिलेशप्रसाद सिंहले कमिसन नपाएपछि आफ्नै कर्मचारीलाई प्रहरी प्रयोग गरेर थुनेको खुलासा भएको छ ।
पोलियोविरुद्धको अभियान सञ्चालनका लागि कार्यालयमा आएको बजेटबापतको कमिसन नदिने सुपरभाइजर मंसिर मन्सुरीलाई सिंहले थुन्न लगाएका हुन् । चार दिन प्रहरी हिरासतमा बसेका मन्सुरी साधारण तारेखमा रिहा भएपछि यो रहस्य खुलेको हो ।
प्रमुख सिंहले राष्ट्रिय पोलियो कार्यक्रमका लागि खोप सुपरभाइजर मन्सुरीका नाममा लेखा फाँटबाट ६ लाख २० हजार रुपियाँ पेस्की निकासा गराएपछि तीन लाख ५० हजार रुपियाँ मागेको र नदिएपछि प्रहरी लगाएर थुनेको मन्सुरीले बताए । ‘१६ वैशाखमा राष्ट्रिय पोलियो खोप अभियानअन्तर्गत दुई दिन कार्यक्रम सञ्चालनका लागि सिंहले ३३ लाख रुपियाँ निकासा गराउन तोक लगाएपछि दातृनिकायबाट सात लाख रुपियाँ मात्र प्राप्त भएकाले लेखाले ६ लाख २० हजार रुपियाँको चेक दिएको थियो,’ मन्सुरीले भने, ‘डा. सिंहले नै लेखा फाँटबाट चेक बुझेका थिए र साँझ क्वाटरमा बोलाएर तीन लाख ५० हजार रुपियाँ मागेका थिए ।’ ‘कार्यक्रम गर्नुअघि नै कमिसन दिँदा कार्यक्रम प्रभावित हुने भएकाले रकम नदिएपछि मलाई रकम लिएर फरार भएको आरोपमा प्रशासनमा पत्र पठाएर समात्न लगाइयो,’ मन्सुरीले भने, ‘कार्यालयमा काम गर्दागर्दै प्रहरी लगाएर पक्राइयो र चार दिन थुनामा राखियो ।’
जिल्ला जनस्वास्थ्य प्रमुख डा. सिंहले कार्यक्रम सञ्चालन गर्नका लागि पेस्की रकम दिएकै दिन खोप सुपरभाइजर मन्सुरीको मानसिक सन्तुलन बिग्रेपछि कार्यक्रम प्रभावित हुने भएकाले रकम फिर्ता माग्दा कार्यालय छाडेर फरार भएपछि प्रहरीलाई उपस्थित गराइदिन पत्र पठाएको दाबी गरे । उनले मन्सुरीसँग कुनै कमिसन माग नगरेको दाबी गरे । कार्यक्रम प्रभावित नहोस् भनेर अर्का कर्मचारीबाट पोलियो कार्यक्रम सञ्चालन गर्न लगाएको उनले बताए । मन्सुरीबाट कमिसन नपाएपछि प्रमुख सिंहले फाँटकै कर्मचारी अनील कर्ण र कौलेश्वर मुखियालाई कार्यक्रम सञ्चालन गर्न दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत वीरेन्द्रनाथ शर्माले जनस्वास्थ्य प्रमुख सिंह र खोप सुपरभाइजर मन्सुरीबीचको विवाद समाधान भएको तथा उनीसँग रहेको ६ लाख २० हजार रुपियाँ अर्को कार्यक्रममा खर्च गर्ने सहमति बनेको बताए । मनसुरीलाई सामान्य तारेखमा प्रशासनले रिहा गरेको छ । कमिसन नपाएपछि कार्यालय प्रमुखबाटै कर्मचारी थुनाउने कामको रौतहटस्थित विभिन्न कर्मचारी संगठनले विरोध गरेका छन् ।

प्रतिक्रिया