११ महिनापछि बस्नेत अदालतमा हाजिर

विराटनगर, १९ वैशाख । पत्रकार र बन्दीमाथि आक्रमण गरेको आरोपमा २४ जेठ ०६८ देखि ‘फरार अभियुक्त’ पर्शुराम बस्नेतलाई अदालतले ११ महिनापछि तारेखमा छाडेको छ । सोमबार मोरङ जिल्ला अदातलमा उपस्थित भएका बस्नेत मुख्य न्यायाधीश चण्डिराज ढकालको इजलासबाट दुवै मुद्दामा तारेखमा पुर्पक्ष गर्न पाउने गरी छाडिएका छन् ।
पत्रकार आक्रमणको घटनामा सादा तारेखमा र बन्दीमाथिको आक्रमणमा दुई लाख रुपियाँ धरौटीमा छाड्न आदेश भएको अदातलका स्रेस्तेदार भीष्म प्रसाईंले बताए ।
सोमबार अदालतमा बस्नेतका तर्फबाट वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, रामप्रसाद सिटौला, चन्द्रमणि न्यौपानेलगायत आधा दर्जनले थुनछेक बहस गरेका थिए । वादीका तर्फबाट सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलाले बहस गरेका थिए ।
१८ जेठ ०६८ मा जिल्ला अदालतमा पेसीका लागि ल्याइएका बन्दी अभिषेक गिरीमाथि बस्नेतको समूहले अदालत परिसरमै सांघातिक आक्रमण गरेर घाइते बनाएका थिए । यही समाचार लेखिएपछि पत्रकार खिलानाथ ढकालमाथि २२ जेठ ०६८ मा आक्रमण भएको थियो । घटनापछि सुरक्षा र दोषीलाई कारबाहीको माग गर्दै पत्रकारले देशव्यापी रूपमा एक महिनासम्म आन्दोलन गरेका थिए ।
पत्रकार ढकालका पक्षमा नेपाल पत्रकार महासंघ मोरङले किटानी जाहेरी दिएपछि प्रहरीले ज्यान मार्ने  उद्योगमा मुद्दा दर्ता गराएको थियो । बन्दी गिरीमाथि भएको आक्रमणमा ज्यान मार्ने उद्योगमा उनकै तर्फबाट अदालतमा मुद्दा दायर भएको थियो । बन्दी र पत्रकारमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्ला अदालतले बस्नेतलाई मुख्य अभियुक्त किटान गरेको थियो । उनलाई अदालतले हाजिर हुन पहिले सातदिने पक्राउ पुर्जी जारी गरे पनि हाजिर नभएपछि पुन ७० दिने म्यादी पुर्जी जारी गरेको थियो । पत्रकार आक्रमण घटनामा त्यतिखेर पक्राउ परेका रोहित कोइराला र मनोज राई पुर्पक्षका लागि कारागार चलान भएका थिए । कोइराला सर्वोच्च अदालतबाट तारेखमा मुद्दा पुर्पक्ष गर्ने गरी छाडिएका थिए ।
सर्वाधिक खोजी गरिएका बस्नेत अदालत आएपछि प्रहरीले दिनभर अदालतमा सुरक्षाकर्मी परिचालन गरेको थियो । बस्नेतलाई युवा संघका कार्यकर्ताले नाराबाजीसहित बजार परिक्रमा गराएर पञ्चालीस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा पुर्‍याएका थिए । पार्टी कार्यालयमा बस्नेतलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया