मोटरसाइकलको नक्कली कागजात

नेपालगन्जः नेपालगन्जमा प्रहरीले नियन्त्रणमा लिएका दुईवटा चोरीका मोटरसाइकलका कागजातमा यातायात व्यवस्था कार्यालय भेरीको छाप र कार्यालय प्रमुखको हस्ताक्षर दुरुस्त भेटिएको छ । सरकारी कार्यालय र कार्यालय प्रमुखकै हस्ताक्षर किर्ते गरेर चोरीको मोटरसाइकल बेचिएको प्रहरीले अनुमान गरेको छ ।
ट्राफिक प्रहरी कार्यालयले नक्कली कागजातसहित भे ३ प २७८९ नम्बरको अपाचे र ना १५ प १३१३ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको हो । ती मोटरसाइकलका कागज र चेसिस नम्बर नक्कली पाइएपछि नियन्त्रणमा लिइएको ट्राफिक इन्स्पेक्टर पोषण ढकालले बताए । ‘चोरीका मोटरसाइकलमा पनि यातायात कार्यालयले दिने सक्कली ब्लु बुकजस्तै कागजात भेटिएका छन्,’ ढकालले भने, ‘सक्कली र नक्कली छुट्टयाउनै गाह्रो भएको छ  ।’ उनका अनुसार नामसारी र नवीकरण गरिएको कागजातमा सरकारी अधिकारीको हस्ताक्षर पनि नक्कली पाइएको छ ।
चोरीका मोटरसाइकलको कागज र चेसिस नम्बर बनाउने गिरोहको खोजी भइरहेको ढकालले बताए । ट्राफिक प्रहरीका अनुसार गिरोहले चोरीका मोटरसाइकलको नक्कली कागजसँगै  त्यहीअनुसारको चेसिस नम्बर बनाउने गरेको पाइएको छ । सरकारी अधिकारीको छाप दुरुस्त भेटिएका कारण चोरीका त्यस्ता मोटरसाइकल चोरीको भए/नभएको छुट्टयाउन ट्राफिक प्रहरीलाई कठिनाइ भएको छ ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जका प्रमुख गोपालप्रसाद शर्माले कार्यालयले सवारीधनीलाई दिने कागजात बाहिर पनि अवैध ढंगले छाप्ने गरिएको सूचना पाएको बताए । उनले कागज मात्र नभई यातायातको छापसमेत बनाएर नक्कली कागजपत्र बनाउने गरेको खबर आए पनि गिरोह पत्ता लगाउन नसकिएको बताए । ब्लु बुक हराएको भन्दै प्रतिलिपि लिएर त्यसको दुरुपयोग भइरहेको शर्माले स्विकारेका छन् । -सौस

प्रतिक्रिया