रुसलाई चीनको चेतावनी

बेइजिङ, २९ चैत । दक्षिण चिनियाँ समुद्र -साउथ चाइना सि) बाट हात झिक्न चीनले रुसलाई चेतावनी दिएको छ । विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा एउटै स्वर बनाउँदै आएका चीन र रुसबीच दक्षिण चिनियाँ समुद्रबारे विवाद भएको घटनालाई चासोपूर्वक हेरिएको छ ।
चिनियाँ समुद्री क्षेत्रमा रुसले तेल उत्खनन परियोजना सञ्चालन गर्ने निर्णय गरेपछि चीनले मंगलबार यसप्रति आपत्ति जनाएको हो । भियतनामसँग मिलेर चिनियाँ समुद्रमा तेल उत्खनन् परियोजना सञ्चालन गर्ने सम्झौता रुसले गरेको छ । यसप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिउ विमिनले चिनियाँ समुद्रमा सक्रिय नहुन रुसलाई चेतावनी दिएका हुन् । उक्त समुद्रमाथि चीनले आफ्नो एकल स्वामित्व दाबी गर्दै आएको छ । तर, समुद्रसँग सीमा जोडिएका भियतनाम, फिलिपिन्सलगायत राष्ट्रले समुद्रका केही टापु आफ्ना भएको दाबी गर्दै आएका छन् ।
चिनियाँ विदेश प्रवक्ता विमिनले भने, ‘चिनियाँ समुद्रमा तेल उत्खनन् गर्न खोज्ने विदेशी कम्पनीले दक्षिण चिनियाँ समुद्री क्षेत्रको विवादमा खेल्न खोज्नुका सट्टा विवाद समाधान गर्न भएका काममा सहयोग गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ ।’ चीनसँग मिलेर विवाद समाधान गर्न उनले समुद्री क्षेत्रका राष्ट्रहरूसँग आग्रह गरे । यसका लागि समुद्री क्षेत्रबाहिरका राष्ट्रलाई संलग्न नगराउन उनले ती राष्ट्रलाई सुझाब दिए । ‘दक्षिण चिनियाँ समुद्रमाथि चीनको सार्वभौमिकता निर्विवाद छ । सम्बन्धित राष्ट्रहरूबीचको वार्ताबाट विवाद समाधान हुन्छ भन्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने । यसअघि भियतनाम र भारतबीच पनि तेल उत्खननसम्बन्धी यस्तै सम्झौता भएको थियो । सम्झौताबाट रुष्ट बनेको चीनले चिनियाँ समुद्रको विवादमा नफस्न भारतलाई चेतावनी दिएको थियो । एजेन्सी

प्रतिक्रिया