उसु संघले एकेडेमी स्थापना गर्ने

काठमाडौं, २९ चैत । नेपाल उसु संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले उसुको संस्थ्गत विकासका लागि सुविधासम्पन्न उसु एकेडेमीको स्थापना गर्ने भएको छ ।
एकेडेमी निर्माण गर्न आवश्यक पर्ने जग्गाका लागि राखेपसँग माग गरिएको जानकारी गराउँदै अध्यक्ष दीपक सरकारले त्यसको कुल लागत नौ करोड रुपियाँ रहेको बताए ।
‘सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा एकेडेमी बनाउनका लागि राखेपसँग जग्गा माग गरेका छौं । कम्तीमा तीन रोपनी जग्गा चाहिन्छ ।’ उनले भने, ‘निमार्ण कार्य पूरा गर्न आवश्यक बजेटमध्ये पाँच करोड रुपियाँ चीनले प्रदान गर्ने आश्वासन पाएका छौं ।’ त्यस्तै, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट रकम संकलन गरी उसु कल्याण कोषको स्थापना गरिएको पनि जनाइएको छ । हाल कोषमा २५ हजार रुपियाँ दाखिला गरिएको छ ।
अन्य कार्यक्रममा ‘जहाँ स्कुल त्यहाँ उसु’ अभियानअन्तर्गत विद्यालयहरूमा उसु खेलको प्रशिक्षणलाई व्यापक बनाउने, विभिन्न रचनात्मक कार्यक्रममार्फत संघको कोष वृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने, स्वदेशमै विदेशी प्रशिक्षक ल्याई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीका लागि विशेष प्रशिक्षण सञ्चालन गर्ने रहेका छन् ।

प्रतिक्रिया