नेपाली नगए चल्दैन रूपैडिहा बजार

नेपालगन्ज, २८ चैत । सुनदेखि नुनसम्म नेपाल भारतमा निर्भर छ तर नेपालगन्जसँग सीमा जोडिएको भारतीय बजार रूपैडिहा भने नेपाली ग्राहककै कारण चलेको छ । नेपाली ग्राहक नजाने हो भने रूपैडिहा बजार ठप्पप्रायः हुन्छ ।
मध्यपश्चिमको प्रमुख सहर नेपालगन्जको बजार सुक्दै गइरहेका बेला रूपैडिहा बजारमा सामान किनमेल गर्ने नेपालीको दैनिक घुइँचो लाग्ने गरेको छ । यहाँका हरेक पसलमा नेपाली ग्राहकको भिड देखिन्छ । लत्ताकपडा तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने नेपाली क्रेताले रूपैडिहा बजार दैनिकजसो नै भरिभराउ हुने गर्छ ।
रूपैडिहाको ठूलो मानिएको रामदूत क्लोथ स्टोरका सञ्चालक रामचन्द्र अग्रवाल नेपाली ग्राहक नआए व्यापार नै नचल्ने बताउँछन् । नेपाली ग्राहक आफ्ना लागि पाहुना भएको उनको भनाइ छ । ‘उनीहरुमाथि नै हाम्रो व्यापार निर्भर छ,’ अग्रवालले भने । रूपैडिहामा करिब एक सय पसल छन् । सोमध्ये दुई दर्जन जति ठूला पसल रहेका छन् । एउटा पसलले एक दिनमा करिब पाँच लाखसम्मको कारोबार गर्ने गरेको व्यवसायी बताउँछन् । सस्तो सामान र बढी विश्वासिलो भएका कारण नेपाली ग्राहक नेपालगन्ज छाडेर यहाँ आउने गरेको व्यापारी अग्रवाल बताउँछन् । यहाँको एउटा डिपार्टमेन्टल स्टोरमा मात्रै दैनिक १० लाख रुपियाँसम्मको कारोबार हुन्छ ।
नेपालगन्जबाट रिक्सा, टाँगा तथा साइकल र मोटरसाइकलमा ६ किलोमिटरको दुरीपार गरेर रूपैडिहा बजारमा किनमेल गर्न ग्राहक जाने गर्छन् । यहाँ दाङ, सुर्खेत, बर्दियाबाट पनि मालसमान किनमेल गर्न आउने गरेको व्यापारी बताउँछन् ।
नेपाली ग्राहकलाई आकर्षण गर्न रूपैडियाका व्यापारीले राम्रो व्यवहार गर्दै आएका छन् । नेपालगन्ज बाँके गाउँकी सरिता वलीका अनुसार अरू पसलमा मान्छेअनुसार मूल्य फरक पर्ने हँुदा यहाँ आउने गरेको छु ।
सीमा प्रहरीचौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकबहादुर रानाले किनमेल गर्न रूपैडिहा बजारमा नेपालीको आवतजावत निकै बढेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपालगन्ज व्यवसायी दामोदर आचार्यले सुरुदेखि नै नेपाली ग्राहक रूपैडिहा जान बानी परेकाले किनमेलका लागि उतै जाने गरेको बताए ।

प्रतिक्रिया