अब उड्ने कार

न्युयोर्क, २८ चैत । टेराफुजिया नामक अमेरिकी कम्पनीले उड्ने कार बनाएको छ । अमेरिकी सहर न्युयोर्कमा जारी अन्तर्राष्ट्रिय अटो सोमा सो कम्पनीले जमिनमा चल्ने र हावामा उड्ने दुवै क्षमता भएको कार प्रदर्शनार्थ राखेको छ ।
टेराफुजियाका उपप्रमुख क्लिफ एलनले उक्त कारले जमिन र हावामा चल्ने सवारीसाधनको मापदण्ड पूरा गरिसकेको जानकारी दिए । उड्ने क्षमता भएको कारको नाम ‘ट्रान्जिसन’ राखिएको छ । ‘ट्रान्जिसन’ मा चार चक्का छन् । उड्दा आवश्यक पर्ने पखेटा काम नपरेका बेला मोडेर राख्ने व्यवस्था मिलाइएको छ । आगामी वर्षसम्म यो कार बजारमा ल्याउने तयारी भइरहेको छ । यसको मूल्य ७९ हजार डलर राखिने अनुमान गरिएको छ ।
गत महिना क्यानेडाको एउटा विमानस्थलमा कारले सफलतापूवर्क परीक्षण उडान भरेको थियो । अमेरिकी वायुसेनाका एक पाइलटले परीक्षण उडान भरेका थिए । परीक्षणका बेला कार १४ फुट उचाइमा आठ मिनेटसम्म उडेको थियो । यद्यपि, कारको उडान गति कति छ भन्ने जानकारी अझै बाहिर आएको छैन । -एजेन्सी

प्रतिक्रिया