खोइ मुस्ताङ स्पिरिट ?

प्रधानमन्त्री बन्नासाथ डा. बाबुराम भट्टराईले मितव्ययी कार्यशैली अवलम्बन गर्ने संकेत गरेका थिए । विभिन्न कार्यक्रममा उपस्थित हुँदा आर्थिक पारदर्शिता, सम्पूर्ण बेरुजु फछ्र्योट र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता पनि जनाएका थिए । प्रधानमन्त्री पदको सपथ ग्रहणलगत्तै मुस्ताङ म्याक्स’ चढेर सिंहदरबार पुगेका प्रधानमन्त्रीले आफूले नेपालमा आर्थिक क्रान्ति गरेर देखाइदिने ठोकुवा गरेका थिए ।
समय बित्दै जाँदा उनका काम भने भनाइभन्दा ठीक उल्टो हुन पुगे । सबैभन्दा सस्तो मुस्ताङ गाडी चढेर वाहवाही कमाएका भट्टराईले पार्टी काममा पनि हेलिकोप्टर प्रयोग गर्न थाले । प्रतिक्रियाहरू प्रतिकूल हुन थालेपछि उनले त्यसरी प्रयोग गरिएको हेलिकोप्टरको भाडा सरकारी कोषबाट नभई पार्टीको कोषबाट बेहोरिने बताए तर अहिले आएर उनको त्यो भनाइ पनि तत्कालको थामथुम मात्रै साबित भएको छ । उनले पार्टीको काममा जाँदा प्रयोग गरेको हेलिकोप्टरको ६० लाख रुपियाँ भाडा नतिरेको खुलासा भएपछि त उनको नियतमा समेत खोट औँल्याउन सकिने अवस्था उत्पन्न भएको छ ।
मितव्ययिताको नाममा मुस्ताङ म्याक्स चढ्ने प्रधानमन्त्री भट्टराई हेलिकोप्टर सयर गर्ने प्रधानमन्त्रीहरूमा पनि पहिलो देखिएका छन् । उनले आफ्ना पार्टीका नेतालाई समेत हेलिकोप्टर सयर गराएका छन् तर भाडा भने तिरेका छैनन् । यसबाट स्वच्छ छविका ठानिएका प्रधानमन्त्री आर्थिक मामिलामा कमजोर रहेको देखिएकोे छ । राष्ट्रको कार्यकारी प्रमुखबाट यस्ता काम हुनु शोभनीय होइन ।
राष्ट्रको कार्यकारी प्रमुखले हेलिकोप्टर प्रयोग गर्नु हुँदैन भन्ने होइन । बारम्बार प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ तर पार्टीको काममा प्रयोग गर्नुर् र सरकारी कामका लागि प्रयोग गर्नु भिन्न कुरा हुन् । यसतर्फ प्रधानमन्त्री सचेत हुनैपर्छ । प्रधानमन्त्रीले अर्थमन्त्री हुँदा स्थापित गरेको छवि र मुस्ताङ चढेर बटुलेको लोकपि्रयतालाई हेलिकोप्टर प्रकरणले धुमिल्याइदिएको छ । यसबाट जनतामा नकारात्मक सन्देश फैलिएको छ । यस्ता काण्डबाट प्रधानमन्त्री मुक्त हुनुपर्छ ।
पार्टी कामका लागि जिल्ला भ्रमणमा जानुपर्ने भएपछि सरकारी कामको चाँजोपाँजो मिलाउने र हेलिकोप्टरको भाडा सरकारी ढुकुटीबाट तिर्न लगाउने प्रवृत्ति पनि वर्तमान प्रधानमन्त्रीले भित्र्याएका छन् । यो झन् विडम्बनापूर्ण र मुलुकका लागि घातक प्रवृत्ति हो । यो गैरजिम्मेवार र अनैतिक काम पनि हो । सरकारी ढुकुटी रित्याउने यस्ता गतिविधि तुरुन्त रोकिनुपर्छ । अन्यथा व्यक्तिगत र पार्टीगत कामका लागि पनि सरकारी ढुकुटीमा धावा बोल्ने प्रवृत्तिले प्रश्रय पाउँछ ।
राष्ट्रको कार्यकारी प्रमुखले आफूलाई पारदर्शी, विवेकी र मितव्ययी बनाउन सकेन भने मुलुक अधोगतितिर धकेलिन्छ । सबै विषयमा प्रधानमन्त्रीले विवेकपूर्ण ढंगले सोच्नुपर्छ । हेलिकोप्टर चढेको भाडासमेत नतिर्ने प्रधानमन्त्रीले समग्र राष्ट्रको हित हुने कार्य कसरी गर्न सक्छ भन्ने खालका प्रश्न उठ्न दिनुहुँदैन । तसर्थ प्रधानमन्त्री डा. भट्टराईले हेलिकोप्टर प्रयोग गरेबापतको भाडा तुरुन्त फछ्र्योट गर्नुपर्छ । र, त्यो पनि सरकारी ढुकुटीबाट होइन पार्टी कार्यालयबाट वा व्यक्तिगत रूपमा चाँडोभन्दा चाँडो तिर्नुपर्छ ।

प्रतिक्रिया