सिंह–जर्दारी भेटवार्ता

नयादिल्ली, २६ चैत । पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारी भारत जाने तय हुनासाथ उनको भ्रमणलाई विश्वभरबाट अत्यन्त चासोका साथ हेरिएको थियो । पटकपटक युद्ध लडिसकेका दुई मुलुकका कार्यकारी प्रमुखको भेटमा कास्मिर, आतंकवादलगायत विवादित विषयमा कडा छलफल र विवाद हुने अपेक्षा गरिएको थियो । सात वर्षपछि पाकिस्तानी राष्ट्रपतिले गर्न लागेको भारत भ्रमणलाई दुवै देशमा अत्यन्त गम्भीरताका साथ लिइएको थियो । विश्वभरका सञ्चारमाध्यमले मनमोहन–जर्दारी भेटसम्बन्धी समाचारलाई प्राथमिकता दिने निश्चय गरेका थिए । तर, मनमोहन–जर्दारी वार्ताका मूल विषय ‘गोप्य’ राखिएपछि दुई नेताले सञ्चारकर्मीसमक्ष राखेको शिष्टाचार भनाइलाई धेरैले समाचार बनाएका छन् । उनीहरूबीच कस्तो माहोलमा कुन–कुन विषयमा छलफल भयो भन्नेबारे भारत, पाकिस्तानलगायत अन्य मुलुकका सञ्चारमाध्यम मौन छन् ।
‘हामीबीचको द्विपक्षीय कुराकानी अत्यन्त फलदायी रह्यो, हामी भारतसग सुमधुर सम्बन्ध बनाउन चाहन्छौ“ । हामीले गर्न सकिने जति सबै विषयमा कुराकानी गर्‍यौ,’ प्रधानमन्त्री सिंहसगको भेटघाटपछि राष्ट्रपति जर्दारीले भने ।
भारतीय प्रधानमन्त्री सिंहले पनि सञ्चारकर्मीमाझ शिष्टाचारमूलक भनाइ मात्रै राखे । ‘राष्ट्रपति जर्दारीको भ्रमणको नतिजाबाट म ज्यादै सन्तुष्ट भएको छु । उहाले मलाई पाकिस्तान भ्रमण गर्न निम्तो दिनुभयो । दुवैलाई पायक पर्ने समयमा पाकिस्तान भ्रमण गर्न पाउ“दा म ज्यादै खुसी हुनेछु,’ उनले भने । दुई देशबीचको सम्बन्ध सामान्य रहोस् भन्ने दुवै पक्षको इच्छा रहेको उनले बताए । ‘भारत र पाकिस्तानबीचको सम्बन्धलाई प्रभावित गर्ने सबै द्विपक्षीय विषयमा राष्ट्रपति जर्दारीस“ग मैत्रीपूर्ण माहोलमा ज्यादै रचनात्मक कुराकानी भयो,’ प्रधानमन्त्री सिंहले थपे । दुई नेताबीच वार्तापछि भारतीय विदेशसचिव राजन मथाइले वार्तासम्बन्धी केही विवरण दिएका थिए । नेताहरूबीच आतंकवादका विषयमा छलफल भएको जानकारी उनले गराएका थिए । स्मरण रहोस्, पाकिस्तान–भारत वार्तामा पाकिस्तानले कास्मिर र भारतले आतंकवादसम्बन्धी मुद्दा प्राथमिकताका साथ उठाउने गरेको छ ।
निजी भ्रमणका लागि भन्दै जर्दारी एक दिनका लागि आइतबार भारत पुगेका हुन् । तर, उनको भ्रमणलाई कूटनीतिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको छ । उनको भ्रमणटोलीमा ४०–५० जना व्यक्ति रहेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया