‘लडाकुले अझै आन्तरिक छलफल गर्ने’

काठमाडौं, २६ चैत । एकीकृत माओवादीले सेना समायोजनका बिषयमा सहमति हुन बाँकी चार वटा बिषयमा अधिकतम लचकताका साथ प्रस्तुत हुने निष्कर्ष निकालेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी स्थायी समिति सदस्य र लडाकुका कमाण्डरबीच आज भएको संयुक्त बैठकले शान्ति प्रक्रिया टुङगाउनका लागि अधिकतम लचकताका साथ जाने निष्कर्ष निकालेको माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै प्रवक्ता शर्माले भने, ‘सेना समायोजनका बिषयमा अधिकतम लचकताका साथ प्रस्तुत हुने सहमति भएको छ ।’ उनले सेना समायोजनका लागि सहमति हुन अझै चार वटा बाँकी बिषय रहेको बताए ।

माओवादी लडाकुका कमाण्डर नन्दकिशोर पुनले पनि केही बिषयमा आन्तरिक छलफल गर्न बाँकी रहेको भन्दै समायोजनमा लचकताका साथ प्रस्तुत हुने बताए । उनले आन्तरिक छलफल गर्न बाँकी रहेकाले चैतका २८ गते सम्म समायोजनमा ठोस निर्णय हुन समय लाग्ने संकेत गरेका छन् ।

बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहका स्थायी समितिको उपस्थिति रहेको वा नरहेको बारेमा भने माओवादी प्रवक्ता शर्माले केही बताएनन् ।

लडाकुको दर्जा निर्धारण, महानिर्देशनालयमा लडाकुको प्रतिनिधित्व, तालिम अवधिलगायतका बिषयमा दलहरुका बीच सहमति हुन सकेको छैन ।

प्रतिक्रिया