वैदेशिक रोजगार व्यवसायी संघमा तामाङ

काठमाडौं, २५ चैत । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा बलबहादुर तामाङ निर्वाचित भएका छन् । संघको शनिबार बिहान सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी हंसराज वाग्लेलाई एक मतले पराजित गर्दै तामाङ विजयी भएका हुन् । अध्यक्षमा तामाङले एक सय ८७ र वाग्लेले एक सय ८६ मत प्राप्त गरेका थिए ।
चारओटा छुट्टाछट्टै प्यानल बनेको निर्वाचनमा अध्यक्षमा तामाङसहित हंसराज वाग्ले, किरणकिशोर घिमिरे र प्रेम कटुवाल उम्मेद्वार थिए । संघको प्रथम उपाध्यक्षमा हंसराज प्यानलका ज्ञानप्रसाद गैरे, द्वितीय उपाध्यक्ष कुमुद खनाल, तृतीय उपाध्यक्ष भुवनसिंह गुरुङ र महासचिवमा कमल तामाङ निर्वाचित भएका छन् । तामाङ प्यानलबाट प्रथम, द्वितीय, तृतीय उपाध्यक्ष र महासचिवमा क्रमशः गोविन्द थपलिया, कमल पुरी, नरेश गेलाल र टंकबहादुर राउत उम्मेद्वार थिए ।
सचिवमा तामाङ प्यानलबाट सुवर्णा श्रेष्ठ र कोषाध्यक्षमा वाग्ले प्यानलका शारदा न्यौपाने विजयी भएका छन् । यसैगरी तामाङ प्यानलबाट आशा लामा, हरिबहादुर पाण्डे, शन्तकुमार लामा, राजेन्द्र भण्डारी, मुक्तिनाथ अधिकारी सदस्यमा निर्वाचित भएका छन् । वाग्ले प्यानलका सदस्यहरूमा श्रीमणि पौडल, दुर्गाबहादुर लिम्बू, युमुन्डा गिरी र माधुरी पौडेल निर्वाचित भएका छन् । कटुवाल प्यानलका एकमात्र रामन्द्र गिरी सदस्यमा निर्वाचित भएका छन् ।
संघको २०आ“ै साधारणसभाबाट निर्वाचित भएपछि अध्यक्ष तामाङले व्यावसायिक एकताका लागि सबै मतलाई कदर गरेर अगाडि बढ्ने बताए । उनले संघमा भएका कमीकमजोरीलाई हटाइ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘व्यवसायीहरूकै सहयोगबाट एक मत बढी लिएर अध्यक्ष पदमा विजयी भएको छु’, तामाङले भने, ‘मसग पराजित हुनुभएका उम्मेद्वारबाट पनि छलफल गरेर व्यवसायीको हितमा काम गर्नेछु ।’ उनले संघलाई व्यवस्थित र पारदर्शी गर्नमा केही अधुरा काम रहेको भन्दै त्यो काम पूरा गरेरै छाड्ने बताए ।
अध्यक्षका प्रत्यासी वाग्लेले पनि व्यावसायिक विकासका लागि आफू प्रतिबद्ध रहेको जनाए । उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन जरुरी रहेको धारणा राखे । नवनिर्वाचित समितिले वाग्लेलाई संघको सल्लाहकारमा मनोनित गरेको जनाएको छ ।

प्रतिक्रिया