पालो दुई चलचित्रको

काठमाडौं : आज शुक्रबारबाट उपत्यकाका दर्शकले दुई नयाँ नेपाली चलचित्र हेर्न पाउने भएका छन् । चलचित्र प्रदर्शनमा लगाइँदै आएको ‘पालो प्रणाली’ बारेको विवाद चर्किइरहँदा आजबाट दुई नयाँ चलचित्र अर्जुनदेव र म तिम्रो भइसकेँले उपत्यकाका हल तताउने भएका हुन् । अर्जुनदेव मोफसलका हलमा प्रदर्शनपछि उपत्यकाको पालो कुरिरहेको थियो । सञ्चारकर्मी एवं निर्माता जयप्रकाश रिजालद्वारा निर्माण गरिएको यो चलचित्र शिव रेग्मीले निर्देशन गरेका हुन् । यसमा विराज भट्ट, रेजिना उप्रेती र गरिमा पन्त मुख्य भूमिकामा छन् । अर्जुनदेवले सामाजिक विषयवस्तुलाई चलचित्रको कथाका रूपमा पर्दामा उतारेको बुझिएको छ ।
त्यस्तै, अर्को चलचित्र म तिम्रो भइसकेँ पनि मोफसलको प्रदर्शनपछि उपत्यकामा भित्रिएको हो । प्रदीप दाहालको निर्माणमा बनेको यो चलचित्र विकास आचार्यले निर्देशन गरेका हुन् । जीवन लुइँटेल, ऋचासिंह ठकुरी, आयुष केसी, विज्ञान सापकोटालगायत यसका मुख्य कलाकार रहेका छन् । काठमाडौंका १९ वटा हलबाट रिलिज हुने भनिएको यो चलचित्र प्रेमकथामा आधारित छ । –

प्रतिक्रिया