नयाँ संविधान भारतबाट आउदैछः गजुरेल

काठमाडौ, २३ चैत । एकीकृत माओवादीका सचिव सीपी गजुरेलले मित्र राष्ट्र भारतले नेपालको संविधान निर्माण गरिसकेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीम आयोजना गरेको साक्षात्कारमा गजुरेलले दलहरु भारतले तयार पारिसकेको संविधान जारी गर्ने बातावरण निर्माण गर्न लागिपरेको दावी गरे ।

उनले २०४७ सालको संविधानबाट संबैधानिक राजतन्त्रको व्यवस्था हटाई गणतन्त्र लेखेर मात्रै नयाँ संविधान बनाएको दावी गरे ।

उनले भने, ‘भारतको चाला थाहा पाएर हामीले आन्दोलनको सुरुवात गरेका हौ ।’
संघीयताको वकालत मधेसले मात्रै गर्दा मुलुकको राष्ट्रिय एकतामा आघात पर्ने चेतावनी दिदै गजुरेलले संघीयता बिनाको संविधानको परिकल्पना गर्न नसकिने स्पष्ट पारे ।

सेना समायोजन सम्बन्धी पछिल्लो सहमतिमा आफूहरुको असहमति भएको भन्दै सचिव गजुरेलले आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पारे ।

कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले संघीयता बिनाको संविधानका पक्षमा कांग्रेस पनि नरहेको बताए । उनले मधेसका बारेमा बोल्ने हैसियत मधेसवादी दलमा मात्र सीमित नभएको बताए ।

बुधवारको सहमतिले शान्तिको वातावरण बनेको भन्दै रिजालले शान्ति प्रक्रियाले पूर्णता नपाई संविधान निर्माण हुन नसक्ने बताए ।

एमाले नेता प्रदीप ज्ञवालीले चैत ३० गते सम्म शान्ति प्रक्रिया टुङगिएमात्रै संविधान जारी हुने अन्यथा संविधान जारी हुन नसक्ने बताए ।

संघीयता सहितको  संविधान जारी हुने दृढता ब्यक्त गर्दै ज्ञवालीले संघीयताको विकास भने निरन्तरको प्रयासबाट मात्र सम्भव रहेको उल्लेख गरेका छन् ।

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस र एमाले संविधान निर्माणमा बन्धक बनेको आरोप लगाए ।

तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनारले संघियता बिनाको संविधान र संविधान बिनाको निर्वाचनको षडयन्त्र गरे मधेसका २२ जिल्ला बाहेकको नेपालमा मात्र लागुगर्न सुझाव दिए ।

प्रतिक्रिया