वैकल्पिक विमानस्थलको सर्भे

काभ्रे, २२ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले वैकल्पिक आन्तरिक विमानस्थलका लागि धुलिखेलमा रहेको ठूलोचौरको अध्ययन सुरु गरेको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उड्डयन प्राधिकरण सुपरीवेक्षण तथा उड्डयन सुरक्षा महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई ट्राफिक चाप कम गराउन विकल्प खोजेको हो । वैकल्पिक विमानस्थलको खोजी गर्ने क्रममा धुलिखेलको ठूलोचौर उपयुक्त देखिएको छ । काठमाडौंको तीनकुनेदेखि भक्तपुरको सूर्यविनायकसम्मको सडक ६ लेन भइसकेको र सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई ६ लेन बनाउने निर्णय भएकाले ठूलोचौर उपयुक्त हुने प्राधिकरणको निष्कर्ष छ ।
प्राधिकरणका निर्देशक बाबुराम भण्डारीले ‘डिटेल फिजिबिलिटी’ अध्ययनका लागि कन्सल्टेन्ट नियुक्त गरिएको जानकारी दिए । ‘पहिलो चरणको फिजिबिलिटी अध्ययन सकिएलगत्तै कन्सल्टेन्ट नियुक्त भएको छ, यसले आगामी जेठसम्म प्राधिकरणलाई प्रतिवेदन बुझाउनेछ,’ भण्डारीले भने । प्राधिकरण बबरमहलका उपसचिव इन्जिनियर हरिबहादुर खड्काले अध्ययनका लागि टिम खटाउने कार्य भएको जानकारी दिए । प्राधिकरणबाट खटिएको टोलीले ‘डिटेल इन्जिनियररिङ सर्भे’ गरेपछि थप कार्य अघि बढ्ने उनले बताए ।
ठूलोचौरमा वैकल्पिक विमानस्थल निर्माण गर्न सकिए अन्तर्राष्ट्रिय विमानस्थलको २० प्रतिशत चाप कम हुने प्राधिकरण निर्देशक भण्डारीले बताए । एक हजार दुई सय मिटर लम्बाइ र एक सय ५० मिटर चौडाइ क्षेत्रफलमा निर्माण हुने विमानस्थलका लागि तत्कालीन काभ्रे गाविसको वडा नम्बर ४ को कित्ता नम्बर ८४ को पा“च सय १३ रोपनी जंगल प्रयोगमा ल्याइनेछ । ठूलोचौरमा निर्माण हुने विमानस्थलमा केही व्यक्तिको जग्गासमेत पर्नेछ । पश्चिममा वडा नम्बर ४ का केही घरमात्रै सिमानामा पर्छन् ।
वैकल्पिक विमानस्थलमा ठूलो एयरबक्स भएका विमान पार्किङ गर्न मिल्दैन । सानो एयरबक्स भएका नेपालका २० प्रतिशत डोमेस्टिक विमान पार्क गर्न मिल्ने प्राधिकरणका निर्देशक भण्डारीले जानकारी दिए । डिटेल सर्भेको अध्ययन सकिएपछि विमानस्थल निर्माणको थप प्रक्रिया सुरु गरिनेछ । धुलिखेल नगरपालिकाका पूर्व उपप्रमुख अशोक ब्यान्जुले विमानस्थलका लागि ठूलोचौर सबै किसिमले उपयुक्त भएको बताए ।

प्रतिक्रिया