माओवादी नेता आयोजना विरोधी

काठमाडौं, २१ चैत । एकीकृत माओवादीकै नेतृत्वमा रहेको सरकारले माथिल्लो कर्णाली, अरुण–३, पञ्चेश्वर, कोशी बाधलगायतका परियोजनालाई अगाडि बढाउने बताइरहेका बेला माओवादीकै नेताहरूले आयोजनाको काम अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
‘राष्ट्रिय स्वाधीनता र माथिल्लो कर्णालीको वास्तविकता’ भन्ने विषयमा कर्णाली जलाधार संरक्षण समाजले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले ती सबै परियोजनाहरू राष्ट्रघाती भएको दाबी गरे । एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य तथा नेताहरू लीलामणि पोखरेल, धर्मेन्द्र बास्तोलालगायतले कुनै पनि हालतमा आयोजनाहरू बन्न नदिने घोषणा गरेका छन् । यी सबै आयोजना अधिकांश भारतमा विद्युत् आयात गर्ने गरी बनाउन लागिएका हुन् ।
कार्यक्रममा उपाध्यक्ष वैद्यले पहिलेपहिले माओवादीले नै विरोध गरेका आयोजना अघि बढाउन आºनै पार्टीको नेतृत्वको सरकार लागेकामा आश्चर्य व्यक्त गरे । ‘माथिल्लो कर्णाली, अरुण तेस्रो, पञ्चेश्वर, कोसी बाधलगायत बारे पार्टीको विरोध रहदै आएको सबैलाई स्पष्ट छ, तर हाम्रै नेता प्रधानमन्त्री र मन्त्री भएका बेला ती सबै राष्ट्रघाती परियोजनालाई राष्ट्रवादी बनाइदैछ,’ वैद्यले भने । भारतलाई खुसी पार्ने गरी राष्ट्रघाती योजना अगाडि बढाएकाले कुनै पनि हालतमा त्यस्ता आयोजनालाई बनाउन नदिने पनि उनले बताए ।
नेता पोखरेलले भारतलाई सेवा दिनका लागि जलविद्युत् आयोजना बनाउन नहुने तर्क राखे । ‘माथिल्लो कर्णालीलगायतका आयोजना भारतलाई निर्यात गर्ने गरी बनाउन लागिएको छ, यसले राष्ट्रहित गर्दैन, अघि बढाउन दिनु हुदैन,’ उनले भने । अर्का माओवादी नेता बास्तोलाले अहिले भारतलाई विद्युत् निर्यात गर्ने गरी २१ आयोजना बनाउन लागिएको र ती सबै आयोजना बन्न नदिने घोषणा गरे ।
सभासद् डबलबहादुर शाहले यही समझदारीलाई आधार मानेर माथिल्लो कर्णाली बनाउन नदिने बताए । जलस्रोत क्षेत्रमा सक्रिय गोपाल सिवाकोटी चिन्तनले अहिलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई २०४७ सालपछि सबैभन्दा बढी राष्ट्रघाती आयोजनाहरू अघि बढाउने समझदारी गर्ने नेताका रूपमा चिनिएको आरोप लगाए ।

प्रतिक्रिया