परिषद्द्वारा थप समय माग

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले दिएको म्यादभित्र पेस्की फछर्याट गर्न र फाँटबारी बुझाउन नसकेपछि सार्वजिनक लेखा समितिसामु सोमबार पन्ध्र दिन थप समय मागेको छ । सार्वजनिक लेखा समितिले भने केही दिनमै समितिको बैठक बस्ने र बैठकले नै अन्तिम टुंगो लगाउने जनाएको छ । समितिका सचिव सोमबहादुर थापाले थप समय दिने या थप छानबिन गर्ने भन्ने विषयमा समितिको बैठक नबसी यसै भन्न नसकिने अवस्था रहेको बताए । परिषद्का सदस्य-सचिव युवराज लामाले सोमबार पत्रकार भेटभाट गर्दै पेस्की फछर्याट गर्न लेखा समितिले दिएको समय सेामबार पूरा भए पनि प्राविधिक कारणले यसबीचमा सम्भव नभएको बताएका छन् ।
सदस्य-सचिव लामाले २८ करोड रुपियाँको पेस्की फछर्याैट गर्न पाँचवटै विकास क्षेत्रमा र एक केन्द्रीयस्तरको समिति गठन गरिएको बताए । कागजात सम्बन्धित ठाउँसम्म पुग्न ढिलाइ भएको र सबै बिल उपलब्ध हुन समय लागेकोले थप केही दिन आवश्यक रहेको बताए । उनले अबको १५ दिनमा पेस्की फछर्याट गर्न सकिने बताएका छन् । पाँचवटै क्षेत्रीय पेस्की फछर्याट समितिले सोमबार नै काम सुरु गरेको जनाइएको छ । कर्मचारीले भने १५ दिनभन्दा बढी समय लाग्न सक्ने बताएका छन् । सुदूरपश्चिमका केही जिल्लाबाट अझै विवरण आइपुग्न बाँकी छ ।
लत्ताकपडा खरिद, आवास तथा भोजन र भौतिक पूर्वाधार पुनर्निमार्णलगायत विषयमा अनियमितता भएको भनी विभिन्न क्षेत्रबाट उजुरी परेपछि सार्वजिनक लेखा समितिले १२ चैतमा परिषद् सदस्य-सचिव युवराज लामा र युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेलाई बयानका लागि बोलाएको थियो । बयानपछि २० चैतभित्रमा पेस्की फछर्याट गर्न निर्देशन दिइएको थियो ।
बक्सिङ र टेबलटेनिसको निर्णय मंगलबार
यसैगरी, विवादास्पद रूपले निर्वाचन भएको नेपाल बक्सिङ संघको वैधताबारे मंगलबार बस्ने राखेप बोर्ड बैठकले निर्णय गर्ने भएको छ । ७ फागुनमा भएको निर्वाचनलाई तत्कालीन अध्यक्ष रविराज थापा पक्षधरले स्थगनको निर्णय गरेपछि मीन शर्मासहितको निर्वाचन टोली पनि हलबाट बाहिरिएको थियो । त्यसपछि हलमा रहेका साधारणसभा सदस्यले राजीव श्रेष्ठको अध्यक्षतामा निर्विरोध निर्वाचन भएको घोषणा गरेका थिए । टेबलटेनिस संघबारे पनि मंगलबारको बोर्ड बैठकबाटै निर्णय हुन सक्ने सम्भावना प्रबल छ ।

प्रतिक्रिया