कम्युनिस्ट सेन्टरका महासचिव पक्राउ

दाङ, २० चैत । माओइस्ट कम्युनिस्ट सेन्टर (एमसिसी)का नाममा विभिन्न जिल्लामा चन्दा आतंक, बम आतंक मच्चाउने एक पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । रोल्पा बुढागाँउ–७ का आकाश भनिने पर्शाराम घर्तीलाई प्रहरीले सोमबार साझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
‘०५२ देखि माओवादीमा थिए । लडाकु र नेता पनि भए,’ घर्तीले भने, ‘माओवादी शान्तिप्रक्रियामा आइसकेपछि मातृका समूहतिर भित्रदा कुरा नमिलेपछि १८ असोजमा ०६६ मा एमसिसी स्थापना गरेर महासचिवका रूपमा क्रियाशील छु ।’
प्रहरीको पत्रकार सम्मेलनमा उनले देशका विभिन्न जिल्लामा संक्षिप्त आपराधिक गतिविधि गरेको स्विकारे । ‘दाङ, रोल्पा, रुकुम, प्युठान, सल्यान, बाके, बुटवल, जाजरकोट, सुर्खेत र काठमाडौंमा समूहले सक्रिय रूपमा आपराधिक क्रियाकलाप सञ्चालन गरिरहेको छ,’ उनले भने, मातृका समूहमा रहदा बम पड्काउने, फिरौती र चन्दा माग्ने काम गरेको थिए ।’ उनले काठमाडौंमा ६, जाजरकोटमा एक र बुटवलमा कार्यकर्ता आतंक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेर जेलजीवन बिताइरहेको बताए ।
घर्तीले २३ वर्षदेखि सक्रिय राजनीतिमा लागेको बताए । उनले तुलसीपुरको बसपार्कमा दुईवटा बम राखेको जिम्मा लिए भने तुलसीपुरको तीन ठाउ“ र घोराहीको दुई ठाउमा बम पड्काएको बताए । उनले थपे, ‘पश्चिममा गाडी जलाउने, काठमाडौंको नाराणय थानमा बम पड्काउने म नै थिए ।’ उनले देशका विभिन्न भागमा जग्गा कब्जा, अपहरण, फिरौती मागको काम गरेको बताए ।
उनका छोरा र श्रीमती रोल्पामै छन् । उनले पैसा र राजनीति दुवै हुने भएकाले यो काम गरेको बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घर्ती बम बनाउने व्यक्ति भएको खुलेको छ । एसपी गणेशबहादुर ऐरले घर्ती हालसम्म पक्राउ परेकामध्य सबैभन्दा बढी घटनामा संलग्न व्यक्ति रहेको बताए ।

प्रतिक्रिया