“नीति पास नहुनु दुर्भाग्य”

केशव बडाल
अध्यक्ष
राष्ट्रिय सहकारी संघ

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ नेपालले कसरी मनाइरहेको छ ?
अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२, जनवरी १ देखि सुरु भयो । नेपालमा भने १३ माघदेखि विधिवत उद्घाटन भएको हो । प्रत्येक जिल्लामा प्रारम्भिक सहकारी र जिल्ला संघको आयोजनामा विभिन्न कार्यक्रम भइरहेका छन् । राष्ट्रिय सहकारी संघका जिम्मेवार व्यक्तिले कार्यक्रम गर्न प्रोत्साहित गरिरहेका छन् । सहकारी संस्था नपुगेका गाविसमा सहकारी स्थापनामा प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ । प्रारम्भिक सहकारी, जिल्ला सहकारीहरू मिलेर यो वर्षमा एउटा न एउटा कार्यक्रम अनिवार्य आयोजना गर्ने रहेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, दैलेख, कास्की, बाग्लुङ, म्याग्दीलगायत जिल्लामा सहकारी वर्ष उद्घाटन भइसकेका छन् भने बाँकी अरूले कार्यक्रम गर्दै छन् । धेरैजसो सहकारीले खुला कार्यक्रम आयोजना गरेका छन् । वर्षभरि गरिने कार्यक्रम तय भइसकेको छ ।
५५औँ सहकारी दिवस नि ?
२० चैत, २०१३ चितवनमा बखान सहकारी स्थापना भयो । सोही दिनलाई नै सहकारी दिवसको रूपमा मनाइने गरिएको छ । राष्ट्रिय सहकारी संघको नेतृत्वमा औपचारिक कार्यक्रमको आयोजना पनि हुँदै छ । विभिन्न केन्द्रीय संघ, जिल्ला संघ र प्रारम्भिक सहकारीले आफ्नै तरिकाले विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाउने कार्यक्रम तय भएका छन् ।
सहकारी वर्षको उद्देश्य के रहेको छ ?
सहकारी जागरण अभियान सञ्चालन गर्नु नै सहकारी वर्षको उद्देश्य हो । मुलुकभरका तीन करोड मानिसलाई सहकारीका बारेमा जानकारी गराउने, सहकारी व्यवसाय, प्रवर्द्धन र विकासका निम्ति योगदान गर्ने, सहकारी मैत्री संविधान, ऐन, कानुन, नीति र नियमावली निर्माण गर्ने नै सहकारी वर्षको मूल उद्देश्य रहेको छ । अहिले हरेक प्रारम्भिक सहकारीले आयात प्रतिस्थापन गर्ने गरी निर्यात प्रवर्द्धन, गरिबी निवारण, रोजगारी सिर्जना गर्नेखालका कामलाई जोड दिइरहेका छन् । यो सहकारी आन्दोलनलाई सबल, सक्षम र व्यवस्थित बनाउन सहकारीकर्मीहरूले आमजनतामा चेतना अभिवृद्धि गराउनु पर्छ ।
सहकारी नीति आउन नसक्नुको कारण के हो ?
मुख्य कुरा त राज्यले यसलाई प्राथमिकतामा राख्न नसकेकै कारणले यसो भएको हो । सहकारी स्थापनाको ५५ वर्ष हुँदासमेत नीति पास नहुनु दुर्भाग्य हो । सहकारीलाई प्राथमिकता नदिने हो भने अर्थतन्त्रमा लोकतन्त्रीकरण हुन सक्तैन ।
सहकारी रणनीति कहाँ पुग्यो ?
सहकारी रणनीति अन्तिम चरणमा पुगेको छ । छिट्टै हामी त्यसलाई औपचारिकरूपमा घोषणा गर्दै छौँ । रणनीतिक उद्देश्यमा मूलरूपमा आगामी पाँच वर्षभित्र करिब २४ हजार प्रारम्भिक सहकारी, दुई सय २५ जिल्ला संघ, १४ केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी संघबाट करिब ३२ लाख सेयर सदस्य, ५० हजारले प्रत्यक्ष रोजगारी, पाँच लाखले अप्रत्यक्ष रोजगारी पाउने   छन् । यो क्षेत्रमा दुई लाखभन्दा बढी सहकारीका सञ्चालक, व्यवस्थापक, लेखासमितिहरू क्रियाशील छन् । यसमा करिब ८० प्रतिशत भोलेन्टियरका रूपमा खटिरहेका छन् ।

प्रतिक्रिया