पहिलो खोटाङ तारा

काठमाडौँ, १८ चैत । फाइनलका लागि छानिएका ६ प्रतिस्पर्धीलाई उछिन्दै दोर्पा चिउरीडाँडा गाविसका अमर चाम्लिङ खोटाङतारा-२०६८ घोषित भएका छन् । खोटाङ महासमाजको आयोजना तथा किरात संस्कृति कला केन्द्रको सहआयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न फाइनलमा उत्कृष्ट गायन क्षमता देखाउँदै उनले खोटाङ जिल्लाका गायनप्रतिभाबीचको पहिलो सांगीतिक स्पर्धामा बाजी मारेका हुन् । फाइनलमा उनले वासुकीको छाल तथा गायक रामकृष्ण ढकालको स्वरमा रहेको बिहान उठ्नेबित्तिकै गीतमा आफ्नो गायनखुबी प्रस्तुत गरेका थिए  ।
त्यसै गरी चिउरीडाँडा गाविसकै रेवत राई फस्र्ट रनरअप घोषत भए भने सिम्पानी गाविसका अनिश परियार सेकेन्ड रनरअप भए । विजेता अमरले पुरस्कारबापत ५० हजार रुपियाँ हात पार्दा फस्र्ट र सेकेन्ड रनरअपको पोल्टामा क्रमशः २५ र १५ हजार रुपियाँ परेको थियो ।  चौथोदेखि सातौं स्थानसम्म आउने अन्य प्रतियोगीलाई पनि वरीयताका हिसाबले नगद पुरस्कार प्रदान गरिएको थियो । चौथो र पाचौं हुने क्रमशः महेश्वरी गाविसका जनम थुलुङ र राजापानी गाविसका भीम लोहारलाई पाँच-पाँच हजार रुपियाँ, छैठौं र सातौं स्थानका क्रमशः दिक्तेलका प्रदीप राई र नेर्पा गाविसका अनिल राईलाई तीन हजार रुपियाँ पुरस्कार दिइएको थियो । संस्कृतिमन्त्री गोपाल किरातीले विजेतालगायतलाई पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए । विजेता अनि सहभागीका लागि छुट्याइएको नगद पुरस्कार खोटाङ जिल्लाकै विभिन्न लब्धप्रतिष्ठित व्यक्तिबाट सौजन्यस्वरूप प्राप्त भएको आयोजकले जानकारी गरायो ।
निणर्यकहरू गायक राजेशपायल राई, संगीतकार महेश खड्का, गायिका रिमा गुरुङ, संगीतकार शान्तिराम राई र संगीतकार डाक्टर किरातले  खोटाङे प्रतिभाको क्षमता जाँचेका थिए । कार्यक्रममा संगीतकार खड्काले अन्तिम राउन्डमा छानिएका सातै प्रतिस्पर्धीका एक-एक  गीतमा निःशुल्क संगीत भरिदिने घोषणा गरे । त्यस्तै सातैजनाको स्वरमा एक-एकवटा गीत रेकर्ड गराई एल्बमका रुपमा बजारमा ल्याउने घोषणा प्रतियोगिता आयोजक खोटाङ महासमाजका अध्यक्ष नवल खड्काले गरे । कार्यक्रममा गायक राजेशपायल राईले पनि विभिन्न गीत गाउँदै माहोलमा रौनकता थपेका थिए ।

प्रतिक्रिया