आन्दोलित पूर्वलडाकु नै विभाजित

सुर्खेत, १८ चैत । १० दिनदेखि पार्टी कार्यालय कब्जा गरेर आन्दोलित बहिर्गमित लडाकु विभाजित भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य खेमामा विभाजन भएका बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय पदाधिकारीले शनिबार पार्टी कार्यालय कब्जा छाडेर एक अर्कालाई संगठनबाट निष्कासन गरिएको विज्ञप्ति जारी गरेका छन् ।
बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका उपाध्यक्ष राजु गहतराजले पूर्वलडाकुमध्येका केहीले दाहाल पक्षस“ग आत्मसमर्पण गरेकाले तत्कालका लागि कब्जा गरिएको पार्टी कार्यालय छाडिएको बताए । उनले संघर्ष समितिका केन्द्रीय सदस्यद्वय नारदमणि पौडेल र लालचन्द्र ध्वजलाई दाहाल पक्षले पैसा दिएर किनेको र बहिर्गमितमा फुट ल्याएको बताए ।
‘हाम्रो आन्दोलनलाई तुहाउन संस्थापन पक्षले पौडेल र ध्वजासहित ११ जनालाई किन्यो’ उनले भने, ‘त्यसैले आन्दोलनलाई अझ सशक्त बनाउने तयारीका लागि अहिले पछि हटेका छौ ।’
पार्टीको संस्थापन पक्षीय पूर्वलडाकुले पार्टीले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएकाले आन्दोलन फिर्ता लिइएको बताएको छ । बहिर्गमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य नारदमणि पौडेलले सुर्खेतस्थित जिल्ला सेक्रेटरी भीमबहादुर मल्ल र भेरी–कर्णाली राज्य समितिका सहसेक्रेटरी रणवीरसग छलफल गरेर कार्यक्रम फिर्ता लिइएको बताए ।
‘पार्टीका नेतासगको छलफलमा माग सुनुवाइ गर्ने प्रतिबद्धता भएको छ,’ पौडेलले भने, ‘केन्द्रीयस्तरमा पनि छलफल र बहस भइरहेकाले आन्दोलनभन्दा पार्टीको निर्णयलाई पर्खेकाले कार्यालय कब्जा छाडेका छौ ।’
उनले संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष  गहतराजलाई एकलौटी अघि बढ्न खोजेकाले संगठनबाट हटाइएको बताए । शनिबार प्रेस विज्ञप्ति प्रकाशन गरी उनले पार्टीले समस्या समाधान गर्ने आश्वासन दिए पनि पूरा नभए पुनः रचनात्मक आन्दोलन गर्ने बताए ।
गहतराजले भने पौडेलसहित ११ जनालाई समितिबाट निष्कासन गरिएको दाबी गरे ।     गहतराजले आन्दोलनलाई अझ सशक्त बनाउन काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताए । पार्टीले समस्या समाधान गर्नाको सट्टा आन्दोलनलाई नै समाप्त पार्न खोजेकाले त्यसका विरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्न लागिएको उनले बताए । आन्दोलन अन्तर्गत पार्टीको केन्द्रीय कार्यालय, अध्यक्ष निवास कब्जा तथा प्रधानमन्त्री कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।

देव गुरुङ ‘झुक्किएर’ दाहालसगै

कमल डागी

नेपालगन्ज, १८ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र असन्तुष्ट खेमाका स्थायी समिति सदस्य देव गुरुङ शनिबार एउटै कार्यक्रममा देखिए । उपाध्यक्ष मोहन वैद्य पक्षीय नेताहरुले दाहालको कार्यक्रममा झुक्किएर गुरुङ उपस्थित भएको दाबी गरेका छन्  ।
थारुवान राष्ट्रिय मुक्ति मोर्चाले शनिबार चिसापानीमा गरेको राजनीतिक प्रशिक्षणमा दाहाल र गुरुङ सहभागी भएका हुन् । पार्टीभित्र विवाद चरमोत्कर्षमा पुगेर संस्थापन पक्षले समेत छुट्टै कार्यक्रम घोषणा गरेका बेला वैद्य पक्षीय गुरुङ अध्यक्षसग भेटिएपछि स्थानीय कार्यकर्ता चकित परेका थिए । कार्यक्रममा वैद्य पक्षीय पोलिटब्युरो सदस्य तथा थारुवान राज्य समिति इन्चार्ज हरिभक्त कडेललगायतका नेता सहभागी थिएनन् ।
‘देव गुरुङ कमरेड छुट्टै गुटको कार्यक्रममा सहभागी हुदा केही कन्फ्युजन भयो,’ कडेलले भने, ‘केही साथी र शुभेच्छुकले फोन गरेर के पार्टीभित्र सहमति हुदै गएको हो भनेर सोधे ।’
गुरुङलाई अध्यक्ष पक्षका स्थानीय नेताले ‘एम्बुस’मा पारेको र पार्टीभित्रको वैचारिक विवाद साम्य नभएको क“डेलले बताए । उनले अध्यक्ष पक्षले काठमाडौंमा छु्ट्टै भेला गरेर फरक संघर्षको कार्यक्रम घोषणा गरिसकेकाले सिंगो पार्टीको कार्यक्रम नभएको बताए । उनले भने, ‘चिसापानीमा भएको कार्यक्रम अध्यक्ष गुटको हो । त्यसमा गुरुङ कमरेड झुक्किएर जानुभयो ।’
कार्यक्रम दुई महिनाअघि तय भएको र गुरुङलाई प्रमुख अतिथि बनाउने योजना भएको क“डेलले बताए । उनले भने, ‘दाहाल पक्षकाले फट्याइ गरे ।’ गुरुङ कार्यक्रममा आएको थाहा पाएपछि केही कार्यक्रर्ता झुक्किएर चिसापानी पुगेको एमाओवादी बा“केका वैद्य पक्षीय सहइन्चार्ज आइपी खरेलले बताए । उनले भने, ‘म पनि अन्योलमा थिए“ । तर चालबाजी बुझेपछि गइन ।’

प्रतिक्रिया