बम विष्फोटबाट ४ को मृत्यु, दुई दर्जन घाईते

जनकपुर, १८ वैशाख । जनकपुरस्थित रामानन्द चौकमा आज बिहान बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । अज्ञात समुहद्वारा गराइएको बम विस्फोटमा परि स्थानीय ४ जनाको मृत्यु भएको छ भने झण्डै दुई दर्जन भन्दा बढी घाईते भएका छन् ।
मृत्तकहरुमध्ये १ जनाको घट्नास्थलमै र ३ जनाको उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो । घट्नास्थलमै मृत्यु हुनेमा जनकपुरका बिमलशरण दास रहेका छन् । त्यस्तै अस्पताल ल्याउदै गर्दा मृत्यु हुनेहरुमा मिथिला नाट्यकला परिषद् जनकपुरकी रञ्जु झा, झगरु मण्डल तथा सुरेश उपाध्याय रहेका छन् ।
घाईते हुनेहरुमा मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापड, रामानन्द युवा क्लबका अध्यक्ष नवीन मिश्र, अशोक दत्त, मनमोहन साह लगायतका रहेका छन् ।
त्यस्तै घाईतेहरुमध्ये केहीको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ भने अन्यलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ ।
मिथिला राज्यको माग गर्दै आन्दोलनरत मिथिला राज्य संघर्ष समितिका आन्दोलनको बीचमै बिहन करिब १० बजेर ३ मिनेटमा गराइएको बम विस्फोटलाई जनकपुरको ईतिहासमा अहिलेसम्मकै ठूलो विस्फोट मानिएको छ ।
यता, बम विस्फोटको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेको व्यक्तिको नाम नखुलाईएको छैन ।
यसैबीच बम विस्फोटको विभिन्न संघसस्थाहरुले भत्र्सना गरेको छन् । आन्दोलनरत मिथिला राज्य संघर्ष समिति, नेपाल पत्रकार महासंघ धनुषा, मधेशी पत्रकार समाज, नेपाल प्रेस युनियन लगायतका संघसंस्थाहरुले घटनाको भत्र्सना गरेका छन् ।
त्यस्तै पुनरावेदन अदालत नजिक रहेको एमाले पार्टी कार्यालय जनकपुरमा पनि गएराति बम विष्फोट भएको थियो । गएराति करिब १० बजेतिर सो कार्यालयमा बम विष्फोट भएकोे हो । तराई मधेश स्टुडेन्ट लिबरेशन फ्रन्टका ‘प्रकाश’ भन्ने विद्यार्थीले सञ्चारकर्मीहरुलाई बम विष्फोट गराएको जानकारी दिएका छन् । बम विष्फोटबाट समान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यता बम विष्फोटमा संलग्न रहेको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको श्रोतको दाबी छ । तर प्रहरीले अहिलेसम्म स्पष्ट गर्न सकेका छैनन् ।

प्रतिक्रिया