ताल संरक्षणमा खेलाडी

चितवन, १८ वैशाख । चितवन स्पोर्टस क्लब भरतपुरले बरन्डाभार क्षेत्रमा निर्माण गरिएको राइनो ताल सफाइप्रति चासो देखाएको छ । जलकुम्भीलगायत झारले ताल ढाक्न थालेपछि क्लबले सरसफाइप्रति चासो देखाएको हो ।
रामबेल बरन्डाभार सामुदायिक वनले पर्यटकीय क्षेत्रको रूपमा राइनो तालको निर्माण गरेको हो । उक्त क्षेत्रमा दुर्लभ एकसिंगे गैंडालगायत जनावर आउने गर्छन् तर सरसफाइको अभावमा तालको अस्तित्व नै खतरामा परेको भन्दै खेलाडीहरूले सफाइमा चासो दिएका हुन् । प्रत्येक साताको एक दिन क्लबका फुटबल, भलिबल, करातेका खेलाडी र १८ जना कार्यसमितिका गरी ७० जनाको हाराहारी खेलाडीले ताल सफा गरिने क्लबका कार्यालय सचिव दीपक न्यौपानेले बताए ।
हाल क्लबको नेतृत्वमा स्थानीय सक्रिय खेलाडी तालमा उम्रिएको जलकुम्भीलगायत झार हटाउन सक्रिय बनेर लागेका छन् । ताल सफाइका लागि क्लबका सुदीप बस्नेतको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ ।
सफाइमा खटिएका युवाले तालवरपर फालिएका प्लास्टिकका झोला, बोतललगायत टुक्रे कागजसमेत एकठाउँमा जम्मा पारेर जलाउने काम गरेका छन् । क्लबका युवा नि:शुल्क ताल सफाइमा जुटेका हुन् । सरसफाइ अभियान एक महिनासम्म चल्ने संयोजक बस्नेतले बताए । सौर्य समाचार

प्रतिक्रिया