भारत र चीनलाई रोक्न नसकिने

क्यानबेरा, १७ वैशाख । अष्ट्रेलियाली प्रतिरक्षामन्त्री स्टिफिन स्मिथले चीन र भारतको उदयलाई रोक्न असम्भव रहेको बताएका छन् । अष्ट्रेलिया र अमेरिकाबीच सैन्य सहकार्यका लागि भएको सम्झौता एसियाली राष्ट्रहरूको उदय रोक्न लक्षित नभएको दाबी गर्ने क्रममा प्रतिरक्षामन्त्रीले यस्तो धारणा राखेको ‘द हेराल्ड सन’ पत्रिकाले जनाएको छ ।
पश्चिम अष्ट्रेलियामा रहेको एचएमएएस स्टिर्लिङ नौसैनिक अखडामा रहेको ‘युएसएस मिसिनगन’ नामक अमेरिकाको परमाणु क्षमतासहितको पनडुब्बी अवलोकन गरेपछि स्मिथले यस्तो बताएका हुन् । एसिया–प्रशान्त क्षेत्रको चुनौती चीन रहेको भन्ने मान्यताप्रति समेत उनले असहमति जनाएका छन् । चीनको बढ्दो सैन्य सामथ्र्यको प्रतिरोधका लागि अस्ट्रेलियामा अमेरिकी सैनिकको उपस्थिति सुनिश्चित गरिएको भन्ने भनाइप्रति पनि उनले असहमति जनाएका छन् ।
‘रणनीतिक, राजनीतिक र आर्थिक प्रभाव हाम्रो क्षेत्रतर्फ सर्न सुरु गरेको अवस्था विद्यमान छ । चीनको मात्रै होइन, भारत र आसियानको उदय भइरहेको छ, जापानी अर्थतन्त्र पनि सशक्त बन्दै गएको छ,’ उनले भने । आगामी ५० वर्षको विश्व राजनीतिमा अमेरिका–चीन सम्बन्ध र चीन–भारत सम्बन्ध हाबी हुने दाबी उनले गरे । यद्यपि, उनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका लागि यस क्षेत्रमा अमेरिकाको सशक्त उपस्थिति अपरिहार्य रहेको प्रस्ट पारेका छन् । अष्ट्रेलियाका हवाई केन्द्रमा अमेरिकी जहाजलाई बढी पहुँच दिनुपर्नेमा पनि उनले जोड दिएका छन् । (एजेन्सी)

‘पाकिस्तान चीनतिर’

वासिङ्टन : अमेरिकी कंग्रेस सदस्य डाना रोराबासरले अमेरिका र पाकिस्तानबीचको साझेदारी शीतयुद्धकालीन अवधारणा रहेको बताएका छन् । यस्तो अवधारणाले आजको भू–राजनीतिक चुनौती सम्बोधन गर्न नसक्ने दाबी उनले गरेका छन् । भारतविरुद्ध रणनीतिक श्रेष्ठता हासिल गर्ने उद्देश्यले पाकिस्तानले तालिबानलाई सहयोग गर्दै आएको आरोपसमेत उनले लगाएका छन् ।
रोराबासरको भनाइ उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पिटिआईले आइतबार  प्रकाशित समाचारमा भनिएको छ, ‘अहिलेको क्षेत्रीय परिवेशमा पाकिस्तानलाई सहयोग गर्नु अमेरिकाको गल्ती हुनेछ । अफगानिस्तानमाथि विजय हासिल गरी भारतविरुद्ध रणनीतिक श्रेष्ठता हासिल गर्ने उद्देश्यले पाकिस्तानले तालिबानलाई सहयोग गर्दै आएको छ ।’ भारत र अमेरिकाविरुद्ध चीनले पाकिस्तानलाई साझेदार बनाएको बताउँदै उनले भारतसँगको सम्बन्ध सुधारमा अमेरिका सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । तालिबानमाथि नियन्त्रण हासिल गर्ने अभियानमा सघाउन उनले रुससँग पनि आग्रह गरेका छन् । यसबाट रुसी भूमिभित्र इस्लामिक चरमपन्थीको फैलावट रोक्न सकिने धारणा उनले व्यक्त गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया