हिमशिखर–पीडित कानुनी बाटो खोज्दै

काठमाडौं, १७ वैशाख । हिमशिखर कोअपरेटिभ लिमिटेडका केही सञ्चालक र निक्षेपकर्ताको विशेष भेलाले निक्षेप फिर्ता लिन विभिन्न कानुनी बाटो अवलम्बन गर्ने भएको छ । भेलाले संस्थाका फरार अध्यक्ष गंगाबहादुर कार्कीको चलअचल सम्पत्ति रोक्का गर्ने जनाएको छ । सम्पर्कमा भएका सञ्चालकलाई कानुनी दायरा र फरारलाई छिटोभन्दा छिटो पक्राउ गरिनुपर्ने हिमशिखर–पीडित बचत संघका अध्यक्ष केदारप्रसाद दाहलले जानकारी दिए ।
आइतबार सबै निक्षेपकर्ता डिभिजन सहकारी कार्यालय काठमाडौंमा गई विभिन्न कानुनी बाटो अवलम्बन गर्न आग्रह गर्ने उनले बताए ।  संस्थाको नाममा रहेको चपलीहाइटस्थित १७ आना जग्गा लिलामी गर्नसमेत डिभिजन कार्यालयमार्फत आग्रह गर्ने जनाएको छ । संस्थाको नाममा भएको चलअचल सम्पत्ति बिक्रीवितरण गरेर भए पनि निक्षेप फिर्ता गराउनुपर्ने पीडितको माग रहेको छ ।
सहकारी खारेज भइसकेकाले कानुनी प्रावधानअनुसार लिक्विडिसनमा जानुपर्ने संस्थाका कोषाध्यक्ष हेमचन्द्र महतोले बताए । केही सञ्चालक पनि पीडितको पक्षमा छन् । ‘के गर्दा उचित हुन्छ भन्नेमा लागिरहेका छौँ,’ उनले भने ।
०६७ सालमा संस्था खारेज गरेको डिभिजन सहकारी कार्यालय काठमाडौंले जनाएको छ । संस्थाले २ वर्षभन्दा बढीदेखि वार्षिक साधारण सभा नगरेको, वार्षिक लेखा परीक्षण नगरेको, सञ्चालक समितिको बैठक नबसेको, मासिक विवरण नबुझाएको र पटकपटक सम्पर्क गर्दा नभेटिएकाले खारेज गरेको डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । प्रहरीलाई  पत्राचार गरिसकेको पनि उनले बताए । संस्थामा करिब चार हजार दुई सय सदस्य छन् । २० चैतदेखि अध्यक्ष गंगाबहादुर कार्की निक्षेपकर्ताको तीन करोड रुपियाँ लिएर सम्पर्कविहीन छन् । संस्थाका सचिव महेश्वर शर्मा र सदस्य किशोर कार्की पनि सम्पर्कमा छैनन् । सञ्चालक सदस्य कार्की अध्यक्ष गंगाबहादुर कार्कीका आफ्नै भाइ हुन् ।
संस्थाका उपाध्यक्ष बालकृष्ण शाही, कोषाध्यक्ष महतो र सञ्चालक सदस्य आशाकाजी महर्जन भने सम्पर्कमै छन् । निक्षेपकर्तामा प्रज्वलविक्रम अधिकारीको २० लाख, सिके लामाको १५ लाख, रविन खड्काको १० लाख, कोषाध्यक्ष हेमचन्द्र महतोको साढे सात लाख, कुमार बस्नेतको पाँच लाख रुपियाँलगायत रहेको बुझिएको छ ।

प्रतिक्रिया