लाइटहेभिवेट बक्सिङ जित्ने अनुमानबीच हप्किन्सको सुरक्षा–चिन्ता

न्युयोर्क, १७ वैशाख । ४७ वर्षीय बक्सर बर्नार्ड हप्किन्सको खेल करियर आइतबार दाउमा लाग्नेछ जतिबेला उनी लाइट हेभिवेट उपाधिका लागि च्याड डाउसनविरुद्ध ‘रि–म्याच’ भिडन्तमा उत्रनेछन् ।
सन् २००१ मा पनि बक्सिङ बुझ्नेहरू यसै भनिरहेका थिए, जतिबेला उनी मिडिलवेट उपाधिका लागि फेलिक्स ट्रिनिडाडसँग भिड्न लागिरहेका थिए । त्यसबेला हप्किन्सबारेको एउटै चिन्ता थियो, उनको सुरक्षा । ट्रिनिडाड आफ्नो समयका बलियोसँग मुक्का प्रहार गर्ने थोरै खेलाडीमध्येका एक थिए, र महान खेलाडी पनि थिए । हप्किन्सले जित्न सक्ने/नसक्नेबारे कसैले त्यतिसाह्रो चासो दिएका थिएनन्, बरु सबैबीच चर्चा भने उनी घाइते नभई रिङमा १२ राउन्डसम्म टिक्छन् कि टिक्दैनन् भन्ने थियो ।
यस्तै चिन्ता सन् २००६ मा पनि गरिएको थियो जतिबेला मिडिलवेटबाट दुई श्रेणीमाथिको लाइटवेटमा उक्लिएका हप्किन्स एन्टोनिओ टर्भरसँग भिड्न लागिरहेका थिए । हप्किन्सले समकालीन महान खेलाडी टर्भरविरुद्ध भिडन्त तय गरेको विषयलाई खुलारूपमा प्रश्न गरिएको थियो जसमा उनले बक्सिङलाई निरन्तरता दिएको विषय पनि त्यत्तिकै प्राथमिकतामा थियो । यसपछि सन् २००८ मा केली प्याभ्लिकविरुद्धको भिडन्तमा पनि हप्किन्सको स्वास्थ्य–सुरक्षालाई लिएर चिन्ता गरिएको थियो किनभने प्याभ्लिक ‘एक्स्प्लोसिभ पन्चर’ थिए ।
यसपटक पनि हप्किन्स रिङभित्र सुत्न सक्नेप्रति चिन्ता भएको हो । हप्किन्सको खेल करियर ‘ब्याड सोप ओपेरा’ जस्तै छ जहाँ एउटा एपिसोडको अन्त्यमा ‘हिरो’ ले अर्को एपिसोडमा सफलता हात पार्ने आशा गरेको हुन्छ । उनलाई हेर्दा लाग्छ, सन त्जुको पुस्तक ‘युद्ध कला’ पढेर उनले आफूलाई डोर्‍याएका छन् । युद्ध कलाभित्र जुले एक लाइन यस्तो उल्लेख गरेका छन्, ‘मेरो जित देख्नेहरूले त्यहाँ मैले कसरी त्यो जित हासिल गरें भनेर मेरो चाल थाहा पाउँछन् तर भिडन्तको क्रममा मैलै कस्तो रणनीति अपनाउन गइरहेको छु भन्ने केही भेउ पाउन सक्दैनन्, त्यसैमा विजय अन्तरनिहित हुन्छ ।’  वास्तवमा यो उक्तिले हप्किन्सको सफलतामा मेल खान्छ ।
हप्किन्सले डाउसनविरुद्ध जित हासिल गर्नेछन् भन्ने प्राय: स्पष्ट नै छ तर मूल कुरा के हो भने दुई दशकभन्दा लामो समयदेखि उनले कसरी जितको शृंखला जारी राखेका छन् ? ‘म कुनै पनि कुराको खासै मतलब राख्दिन, वास्तवमा त्यो चिन्ता पनि होइन,’ प्रतिद्वन्द्वीको आक्रमणबारे हप्किन्स भन्छन्, ‘वास्तवमा यो त चुनौती हो । मिडियामा आएको आलोचना वा समीक्षा मेरो सबैभन्दा ठूलो उत्प्रेरक हो । यो थिएन भने आज म जहाँ छु सायद त्यो सम्भव हुने थिएन होला ।’
तर्क र विश्लेषण प्रयोग गरेर हप्किन्सका भिडन्तबारे अनुमान गर्न गाह्रो हुन्छ । यो त्यति धेरै पनि होइन किनभने ४७ वर्षको मानिस अझैसम्म खेल्दै छ एउटा ठूलो, तेज तथा बलियो खेलाडीका रूपमा जो युवा खेलाडीभन्दा पनि सशक्त छन् किनभने हप्किन्सविरुद्धको खेल भने बक्सिङ ‘स्किल’ भन्दा माथिको विषय हो । हप्किन्सको भिडन्त सबै कुरा मिश्रित हुन्छ जुन रिङमा बेल बज्नुभन्दा धेरै समय अगाडिदेखि सुरु भएको हुन्छ । दसनविरुद्धको पहिलो भिडन्तमा हप्किन्स अस्थिर र सुस्त देखिएका थिए जुन खेल विचित्र तरिकाले टुंगिएको थियो । हप्किन्स यसमा घाइते हुन पुगेका थिए । दोस्रो चरणमा टाउकोमा प्रहार खेपेपछि हप्किन्सको काँधमा पनि चोट लागेको थियो ।
दसनविरुद्धको ‘रि–म्याच’ का लागि हप्किन्स लामो समयदेखि तयारी गरिरहेका छन् र शान्त देखिएका छन् । सार्वजनिक स्थानमा उनी थोरै मात्र देखिएका छन् र यसरी देखिंदा उनी कम बोल्ने गरेका छन् । ‘सुन्नुहोस्, मलाई यो मनपर्छ,’ बक्सिङमा मनोविज्ञानको पक्ष बुझाउँदै हप्किन्सले भने, ‘यो बुद्धिचालको खेल हो, चेक गर्नेहरूको होइन । यो रिङ भित्र हुुने खेल हो तर हुन लागिरहेको मेरो भिडन्त भने रिङभन्दा बाहिरको हो जुन म जित्न गइराखेको छु । यो बिल्कुल शारीरिक भिडन्तसँग केन्द्रित हुनेछ ।’
पक्कै पनि ‘फिजिकल एडभान्टेज’ डाउसनलाई हुनेछ तर सन त्जुले आफ्नो पुस्तकमा लेखेजस्तो ‘एउटा ज्ञानी राजकुमार र बुद्धिमान् सेनानायकले शत्रुले जस्तोसुकै ‘मुभ’ बनाए पनि पराजित गर्छन्, जुन काम साधारण मानिसले गर्न सक्दैनन् ।’  हप्किन्सले यसै कारण बक्सिङमा सफलता हात पारिरहेका छन्, आफ्नो प्रतिद्वन्द्वीले कुनै चाल चल्नुअघि नै हप्किन्सलाई उसले कुन चाल चल्न लागिरहेको छ भन्ने थाहा भइसक्छ । एपी

प्रतिक्रिया