‘शिक्षकले असहयोग गरे जागिर जान्छ’

काठमाडौं, १६ वैशाख । शिक्षामन्त्री दीनानाथ शर्माले आइतबार (आज) देखि हुने कक्षा १२ को परीक्षालाई शिक्षकले असहयोग गरे जागिर धरापमा पर्ने चेतावनी दिएका छन् । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनले परीक्षालाई असहयोग गर्ने निर्णय गरेपछि मन्त्री शर्माले यस्तो चेतावनी दिएका हुन् ।
राजधानीमा शनिबार भएको कार्यक्रममा मन्त्री शर्माले शिक्षकको असहयोगले परीक्षा नरोकिने बताए । ‘आन्दोलनका कारणले परीक्षामा तलमाथि भयो भने त्यस्तो समूह भोलि शिक्षकका रूपमा पनि रहन सक्दैन,’ उनले भने । उनले शिक्षकका मागमा आफूहरू गम्भीर रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरे । शिक्षा ऐन संशोधन भएपछि शिक्षकका धेरै माग पूरा हुने उनको भनाइ थियो ।
यस वर्ष कक्षा ११ र १२ का गरी साढे आठ लाखभन्दा बढी परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार कक्षा १२ को परीक्षामा नियमिततर्फ २ लाख ६२ हजार ९ सय ८९ र आंशिकतर्फ १ लाख ४२ हजार ५ सय ३७ गरी ४ लाख ५ हजार ५ सय २६ जना परीक्षार्थी सहभागी हँुदै छन् । यसैगरी, वैशाखको अन्तिममा सुरु हुने कक्षा ११ को परीक्षामा नियमिततर्फ २ लाख ८६ हजार १ सय ३३ र आंशिकतर्फ १ लाख ७५ हजार ८ सय ८२ गरी कुल ४ लाख ६२ हजार १५ जना परीक्षार्थी सहभागी हुनेछन् । यी दुवै परीक्षाका लागि ९ सय २५ वटा परीक्षा केन्द्र तोकिएको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया