‘६ देखि १४ कै बिचबाट संख्याको खोजी’

काठमाडौं, १६ वैशाख । प्रमुख दलका शीर्ष नेताहरुले संघीय राज्य बनाउने क्रममा ६ देखि १४ संघीय राज्यकै बिचबाट संख्या आधार बनाई सहमति खोज्ने निष्कर्ष निकालेका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले ६ देखि १४ प्रदेशका बिचबाटै संख्या निर्धारण गर्ने सहमति गरेको एमाओवादी नेता खिमलाल देबकोटाले जानकारी दिए । उनले भने, ‘संघीय राज्यका विषयमा गम्भिर छलफल भएको छ, शीर्ष नेतृत्व मुलुकमा ६ देखि १४ प्रदेशका बिचमा संख्याको टुङगो लगाउन सहमत भएका छन् ।’
त्यसै गरेर शीर्ष बैठकले पहिचानलाई समेट्ने गरेर संघीयता बनाउने भन्दै बिभिन्न संघ÷संगठनहरुसँग पनि त्यस बिषयमा छलफल गर्ने निष्कर्ष निकालेका छन् ।
‘अहिलेका सन्दर्भमा जे देखिएका छन् त्यसलाई चिन्त बुझाउनुपर्ने भएको छ’, देबकोटाले भने, ‘संघीय राज्यका विषयमा जुनचासो र चिन्ता छ त्यसमा सबैसँग छलफल गर्ने छौं ।’
कांग्रेसले राज्य पुनर्संरचनामा दलहरुका बीच भएका सहमितलाई पार्टीमा आन्तरिक छलफल गर्ने समय माग गरेपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । बैठक आईतबार बिहान सात बजे पुनः बस्ने छ ।
उता, एमालेले पनि सात प्रदेश बनाउनुपर्ने भन्दै सहमतिका लागि आफूहदै सम्मको लचक तयार रहेको आश्वासन दिएको एमाओवादी नेता देबकोटाले बताए । उनले भने, ‘हामी राज्य पुनर्संरचना लगायतका बिवादित बिषयमा सहमतिको अत्यन्त नजिक पुगेका छौं ।’

प्रतिक्रिया