मदन पुरस्कार स्थापनाको अन्तर्कथा

मदन पुरस्कार नेपाली वाङ्मयको अहिलेसम्मकै सर्वोच्च पुरस्कार मानिन्छ । स्थापनापछिको यो अवधिसम्म आइपुग्दा यसले ५६ वर्ष पार गरिसकेको छ भने कृति, व्यक्ति एवं संस्थालाई गरी पुरस्कारको शृंखला ९० पुर्‍याइसकेको छ । मदन पुरस्कार गुठीले मदन पुरस्कार र जगदम्बाश्री गरी दुई पुरस्कार प्रदान गर्दै आएको छ । दुवै पुरस्कारको राशि २–२ लाख रुपिया छ । यो पुरस्कार स्थापना हुनुपछाडिको पृष्ठभूमि कस्तो थियो त ? मदन पुरस्कार गुठीका अध्यक्ष तथा नेपाली वाङ्मयका अनुसन्धाता कमलमणि दीक्षित यसरी खुल्दै छन् :

मदन पुरस्कार स्थापना हुनुअघि नेपाली वाङ्मयकै लागि भनेर अरू कुनै पुरस्कार थिएनन् । यो पुरस्कार ०१२ साल २८ मंसिरमा स्थापित भएको हो । पहिलोचोटि ०१३ सालमा पुरस्कारका लागि छानिएको कृति घोषणा गरियो । ०१४ सालमा सत्यमोहन जोशी, बलराम जोशी र चित्तरञ्जन नेपालीका कृतिलाई पुरस्कृत गरियो । पुरस्कार घोषणा र प्रदान गरिने समयको अन्तराल अहिले पनि त्यस्तै छ ।
त्यस बेला संस्था रजिस्ट्रेसन गर्न पाइन्नथ्यो । अहिले भूमिसुधार अड्डा भनेजस्तै त्यतिबेला पोतार रजिस्ट्रेसन अड्डा हुन्थ्यो । जग्गाजमिन अथवा अंशबन्डाको रजिस्ट्रसन गर्ने काम त्यसैले गथ्र्यो । त्यति बेला ठूलाठूला मान्छे रजिस्ट्रेसन अड्डामा धाउँदैनथे, अड्डा नै उनीहरूकहाँ आउँथ्यो । मदन पुरस्कारको रजिस्ट्रेसन पनि रानी जगदम्बाको घरमा भएको हो । मदन पुरस्कार गुठी स्थापनाका लागि भएको त्यो कागजमा साक्षीहरूले सही गरेका छन् । रानी जगदम्बा, मेरा मातापिता, म अनि त्यति बेलाका पुलिट्जर सुब्बा चूडामणि खनाल त्यहाँ थियौँ । रानी जगदम्बाले ल्याप्चे लगाउनुभएको छ । त्यो कागज शम्भुप्रसाद ज्ञवालीले लेखेका हुन्, मदन पुरस्कार गुठीको सबै ड्राफ्ट उनैले तयार पारे । यसलाई त्यति बेला दानपत्र भन्थे, अहिले त्यसो भन्न पाइँदैन । मदन पुरस्कारको दानपत्र त्यही थियो, नियमावली भिन्नै हो । त्यसअघिसम्म यस्तो कुरा कसैले रजिस्ट्रेसन गरेका थिएनन् । लिखितम धनीका नाम…फलाना, मैले रिन दियाँ भन्ने शैलीका कागज मात्रै गरिँदै आएका थिए । मदन पुरस्कार जन्माउनमा खास महत्त्वपूर्ण योगदानचाहिँ मेरा मातापिता केदारमणि र विद्यादेवी अनि रानी जगदम्बाकै छ । रानी जगदम्बा गुरु वा गार्जेन जे भने पनि मेरा मातापितालाई नै मान्नुहुन्थ्यो ।
मदन पुरस्कार स्थापना हुनुअघि त्यस्तो विशेष अभ्यास भएजस्तो मलाई लाग्दैन । कुनै पनि भाषा लेखेर पुरस्कृत हुनुपर्छ भन्ने परम्परै नभएको ठाउँमा त्यस्तो अभ्यास कसरी हुन सक्थ्यो र ? खासमा यो एउटा संयोग मात्रै हो । यत्ति हो हामीलाई लाग्यो कि नेपाली भाषा लेख्ने मान्छेको पनि सम्मान हुनुपर्छ । सँगसँगै यो पनि हो कि रानी जगदम्बाले त्यति बेला तीन लाख भारुको कोष व्यवस्था नगरिदिनुभएको भए यो खडा हुने थिएन । उहाँ त नेपाली भाषी मान्छे होइन । इन्डियाको युपीको एउटा गाउँका राजपूतकी छोरी, मातृभाषा पनि नेपाली होइन । उहाँलाई नेपाली भाषाको सम्मान हुनुपर्छ भन्ने कसरी लाग्यो होला ? खासमा उहाँलाई यसमा कन्भिन्स गराइएको हो ।
मदन शमशेरका नाममा खडा भएकाले यसको नाम मदन पुरस्कार राखियो, जो रानी जगदम्बाका श्रीमान् हुन् । उनलाई लेफ्टिनेन्ट जर्नेल मदनशमशेर जंगबहादुर राणा भन्थे । चन्द्रशमशेर ‘महाराज’ का कान्छीपट्टिका कान्छा छोरा । साहित्यप्रति उनको त्यस्तो कुनै झुकाब पनि होइन, मिलिटरी मान्छे, बरु क्रिकेटको साह्रै ठूलो खेलाडीचाहिँ हुन् । अस्ति भर्खरै पनि कसैले उनलाई फादर अफ द नेपाली क्रिकेट भनेर लेखेको थियो । उनको ३६ वर्षको उमेरमा निधन भयो । सायद त्यति बेला रानीसाहेब पनि त्यत्ति नै वर्षकी हुनुहुन्थ्यो । विधवा हुनुभयो, सन्तान पनि छैन । धर्मकर्मतिर लाग्नुभयो । धर्म मात्रै होइन, कर्म पनि गर्नुपर्छ भनेर हामीले सिकायौँ । नत्र त त्यसपछि उहाँ नेपाल आउँदै नआउने, बनारसमै बस्ने सोचाइमा हुनुहुन्थ्यो । हाम्रो पिताजीले उहाँलाई अनेक किसिमले सम्झाएर यता ल्याउनुभो । ‘यहाँ बसेर हजुरलाई हुँदैन, नेपालै जानुपर्छ’ भनेर सम्झाउँदा मलाई अब नेपालसँग के मोह भन्नुहँुदो रहेछ । उहाँ नेपालमा उति धेरै बस्नुभएकै थिएन । १९९३ सालमा बिहेपछि दश वर्ष यहाँ बस्नुभएको थियो । ०३ सालअघि नै इन्डिया फर्किहाल्नुभो । नेपाली भाषा पनि यहीँ आएर सिक्नुभएको न हो । नेपाली भाषामा मेरा पिताजी उहाँका गुरु हुनुहुन्थ्यो । निकै सम्झाइ–बुझाई गरेपछि नेपाल फर्किएर पुरस्कार स्थापना गर्न मान्नुभयो । उहाँले हुन्छ नि त गरौँ भनेपछि आवश्यक ऐन–कानुन बनाइएका हुन् । यी कुरा यसअघि पनि थुप्रै पुस्तकमा लेखिसकिएकै छन् ।
त्यसपछि यसका प्रक्रियाहरूलाई कसरी अगाडि बढाउने भन्नेबारे शम्भुप्रसाद ज्ञवाली र मेरो लामै कुरा हुन्थ्यो । ती कुरा हाम्रा पितामातालाई भनेर एप्रुभ गराइन्थ्यो । रानीसाहेबको देन भनेको त्यो पैसा अनि उहाँको मन नै हो । नेपालीभाषी नभएका कारण नेपाली वाङ्मयको पुरस्कार यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भनेर उहाँले निर्देशन दिन सक्ने अवस्था पनि थिएन । उहाँहरूले धर्ममा खर्च गर्ने पैसालाई हामीले कर्मपट्टि लगाएका मात्र हौँ । आफ्ना पतिका निमित्त कतिवटा घर दान गर्नुभयो, धर्मशाला, धारा बनाइदिनुभयो, सप्ताह लगाउनुभयो । हिँडेर ६ दिन लाग्ने तेह्रथुमको आठराई संक्रान्तिमा गएर सानोतिनो अस्पताल खोल्दिनुभयो । यी सबै सामाजिक कामसँगसँगै साहित्यलाई पनि केही गर्नुपर्छ भन्नेमा उहाँलाई कन्भिन्स गराइयो । उहाँको मनमा ‘हो त’ भन्ने पारिसकेपछि यससम्बन्धमा धेरै काम भए । धेरै मेहनत पनि गरियो होला । तर, भइछाड्यो । अहिले ५६ वर्ष भयो चलिरहेकै छ ।
जन्मनु नै ठूलो कुरा भएको अवस्थामा यसलाई यति वर्ष पुर्‍याउँला भन्ने योजनाको त कुरै थिएन । कृति पनि अहिलेजसरी कहाँ निस्किन्थे र † आक्कल–झुक्कल यसो कहिलेकाहीँ एक दुईवटा देखिन्थे । त्यसो त यसबीच कसैले आक्षेप पनि लगाए होलान् । त्यस्ता आक्षेपलाई मनमा बिझाएर राखेको भए त कामै हुँदैनथ्यो नि † पुरस्कार नपाउनेले गाली गरे होलान्, यस्तो–उस्तो भने होलान् तर त्यस्ता कुरा मचाहिँ सम्झन चाहन्नँ ।
०१२ सालमा गुठीका लागि जुन नियम बनाइयो, अहिलेसम्म त्यो तीनचोटि परिवर्तन भइसकेको छ । नियमावली संशोधित हुँदै गए । पहिले चारवटा पुरस्कार दिइन्थ्यो–गद्य साहित्य, पद्य साहित्य, सामाजिक शास्त्र र विज्ञान । पुरस्कारको रकम चार हजार रुपियाँ मात्र थियो । रकम कम भएजस्तो लागेकाले दुईटा पुरस्कार मात्र दिन थाल्यौँ । ०२६/०२७ सालतिर गएर एउटा मात्रै पुरस्कार भयो ।
मदन पुरस्कार साहित्यको पुरस्कार होइन, नेपाली वाङ्मयको पुरस्कार हो । साहित्यविधाकै कुनै कृतिले पाउँछ भने पनि त्यसले भाषिक उत्कृष्टताकै आधारमा पाउने हो । त्यसैले नरबहादुर साउदले लेखेको कृषिक्षेत्रबारेको पुस्तकले पनि यो पुरस्कार पायो । नरबहादुरको नेपाली साहित्यमा के देन भनेर कसैले सोध्छ भने त्यो मदन पुरस्कारलाई सरोकार भएको विषय होइन, न त मेरो टाउको दुखाइ नै । हाम्रा परीक्षकहरूले नेपाली भाषाका लागि त्यो पुस्तक त्यो वर्षकै सबैभन्दा राम्रो हो भनेर ठहर्‍याए । फेरि मदन पुरस्कार कुनै व्यक्तिले पाउने होइन, कृतिले हो । जस्तै, मोहनराज शर्माले पाएको होइन, वैकुण्ठ एक्सप्रेसले पाएको हो । मदनमणिजी होइन, माधवी पुस्तक पुरस्कृत भएको हो । झमककुमारीसछँग त हामीलाई मतलबै छैन, उनको पनि किताबलाई दिइएको हो । यसबीचका अप्ठ्यारा परिस्थितिलाई हामीले चुनौतीका रूपमा हेर्दै हेरेनौँ, यो आफैँमा नकारात्मक शब्द हो । करिब–करिब ९० वटा पुरस्कार दिइसकियो ।
अहिले म मदन पुरस्कार गुठीको अध्यक्ष हुँ, पहिले ३६ वर्षसम्म सचिव थिएँ । पहिले रानीसाहेब अध्यक्ष हुनुहुन्थ्यो, त्यसपछि मेरा पिताजी हुनुभयो । अध्यक्ष हुँदैमा मैले चाहेर कुनै किताबले पुरस्कार पाउने होइन । प्रेतकल्प राम्रो पुस्तक थियो, सर्ट लिस्टमा पनि माथि नै थियो होला तर हाम्रा परीक्षकले भाषाको नवीनताका दृष्टिले युवराज नयाँघरेको एक हातको तालीले त्यो वर्ष पुरस्कार पाउनुपर्ने ठहर्‍याए, सिद्धियो । मदन पुरस्कार गुठीका १५ सदस्यसहितको साधारणसभाले पास गरेपछि नै त्यो पुरस्कृत भएको हो । त्यसैले व्यक्तिले दिने होइन, सिस्टमले नै पाउने हो । व्यक्तिगत हिसाबले हुन्थ्यो भने त सेतोबाघले पुरस्कार पाउनै पथ्र्यो, म भए दिन्थेँ होला । तारिणीप्रसाद कोइरालाको सर्पदंश भन्ने उपन्यास छ, बालमनोविज्ञानमा आधारित त्यस्तो किताब अहिलेसम्म नेपालीमा छँदै छैन । तर, पञ्चायतको टाइम थियो, त्यसले पाएन । त्यसैले पुरस्कार मैले दिएर दिइने नै होइन । तर, यो कुरा कसैले बुझ्दैन । त्यसैले सधैँभरि जस पनि मलाई, अपजस पनि मलाई नै आउँछ । कमलमणिले प्रेतकल्पलाई दिएन, उर्गेनको घोडालाई दिएन भन्छन् तर मैले दिएर दिइने नै होइन । यस्तो सिस्टम बसेको छ, कसैको केही लाग्दैन । आखिरमा सही गर्ने मान्छे मात्रै हुँ म त ।

प्रस्तुति : प्रदीप खतिवडा

प्रतिक्रिया