साउनदेखि विद्युत् महसुल बढ्ने

काठमाडौं, १५ वैशाख । ११ वर्षदेखि बढ्न नसकेको विद्युत् महसुल आगामी १ साउनदेखि बढ्ने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले ऊर्जा मन्त्रालयलगायतका अन्य निकायको सल्लाहमा आगामी साउनदेखि महसुल बढाउन लागेको हो । आयोगका पदाधिकारी र ऊर्जामन्त्री पोष्टबहादुर बोगटीबीच भएको छलफलमा बोगटीले आगामी १ साउनदेखि बढाउनका लागि आग्रह गरेपछि आयोगले बढाउने तयारी थालेको छ । आयोगले वैशाखदेखि नै बढाउने भनिएको विद्युत् महसुल ऊर्जामन्त्रीको सुझावकै कारणले बढ्न सकेको थिएन । ऊर्जामन्त्रीले नै आर्थिक वर्ष मिलाएर आगामी १ साउनदेखि बढाउन भनेपछि महसुल बढ्ने निश्चित भएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
‘आर्थिक वर्ष मिलाएर बढाउन मन्त्रीज्यूले भनेकाले साउनदेखि बढाउने सोचमा आयोग पुगेको छ तर यसको निर्णय भइसकेको छैन,’ आयोगका अध्यक्ष गणेश सुब्बाले भने । उनका अनुसार आयोगले ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरिरहेको छ । आयोगले २० प्रतिशत विद्युत् महसुल बढाउन लागेको छ ।
नेपाल विद्युत् प्राधिकरणले आयोगलाई ३० प्रतिशत विद्युत् महसुल बढाउन पत्र लेखेपछि महसुल नबढाउनका लागि सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले विद्युत् महसुल नबढाउन माग गर्दै परेको रिट निवेदन गत १७ फागुनमा खारेज गरेपछि आयोगका लागि महसुल बढाउन बाटो खुलेको थियो तर महसुल बढाउँदा संक्रमणकालीन राजनीतिक अवस्थामा आन्दोलनलगायतका समस्या आउने कारणले ऊर्जामन्त्रीले वैशाखदेखि बढाउने तयारीमा रहेको आयोगलाई नबढाउन सुझाव दिएको स्रोतले जानकारी दिएको छ । अहिले मन्त्री आफँैले बढाउने सुझाव दिएपछि आयोगले साउनदेखि बढाउने गरी तयारी अगाडि बढाएको हो ।
पछिल्लोपटक ०५८ सालमा विद्युत् महसुल बढे पनि त्यसपछि बढेको छैन । प्राधिकरणले विद्युत् महसुल नबढ्दा बर्सेनि सात अर्ब घाटा हुने गरेको जनाएको छ । विद्युत् महसुल बढाउने तयारी गरिरहेको आयोगलाई सर्वोच्चको अन्तरिम आदेशले बढाउन रोकेको थियो ।
अधिवक्ता रामेश्वरप्रसाद घिमिरेलगायतले विद्युत् महसुल नबढाउन माग गर्दै नेपाल विद्युत् प्राधिकरण र विद्युत् महसुल निर्धारण आयोगविरुद्ध गत माघमा सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चले अर्को आदेश जारी नहुन्जेललाई भन्दै विद्युत् महसुल नबढाउन अन्तरिम आदेश जारी गरेको थियो ।
‘सर्वोच्चको आदेशले विगत ११ वर्षदेखि बढ्न नसकेको विद्युत् महसुल बढाउनका लागि बाटो खुलेकाले छिट्टै बैठक बसेर बढाउने छौँ,’ सुब्बाले भने ।

प्रतिक्रिया