बैतडी यु–१९ राष्ट्रिय च्याम्पियन


काठमाडौ,१५ वैशाख । प्रतियोगिताको अन्तिम समयमा सानदार पुनरागमन गर्दै क्षेत्र नम्बर छ वैतडी पहिलो पटक यु–१९ राष्ट्रिय च्याम्पियन बनेको छ ।
समूहको अन्तिम खेलमा साबिक विजेता क्षेत्र नम्बर चार भैरहवामाथि अप्रत्याशित जित हात पार्दै फाइनलमा प्रवेश गरेको वैतडीले बिहीवार भएको उपाधि भिडन्तमा क्षेत्र दुई वीरगन्जलाई चार विकेटले पराजित गरेको हो । भैरहवाविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको बैतडीले वीरगन्जविरुद्ध पनि त्यसैलाई निरन्तरता दियो ।  निकै सन्तुलित टिमका रुपमा देखिएको वीरगन्ज टस जिती पहिला ब्याटिङ गर्नेक्रममा ३७.२ ओभरमा एक सय  रनमा सीमित भयो । उत्कृष्ट ब्याटिङक्रम भएको वीरगन्जलाई सस्तैमा समेट्नेक्रममा प्रेम तामाङले तीन तथा विनोद लामा,सन्तोष भट्ट र यज्ञमान कुमालले दुई/दुई विकेट लिए ।
प्राप्त लक्ष्य बैतडीले ३१.४ ओभरमा पूरा गर्‍यो । विजयी टोलीका लागि प्रारम्भिक ब्याट्सम्यान सुरेन्द्र चन्दले सर्वाधिक ३८ रन जोडे । त्यस्तै  सौरभ चन्दले २२ र प्रेम तामाङले १८ रनको योगदान गरे । सामान्य लक्ष्य पछ्याउनेक्रममा सुरेन्द्र र प्रेमबीच पहिलो विकेटका लागि ५९ रनको साझेदारी भएको थियो । बलिङ्तर्फ हसिम अन्सारी र अकिब अन्सारीले समान तीन विकेट लिए ।
यसअघि वीरगन्जको इनिङमा सुरज कुर्मीले सर्वाधिक  ३० रनको योगदान गरेका थिए । त्यस्तै अकिबले १८ र हसिमले १५ रन जोड्नुबाहेक वीरगन्जका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न सफल भएनन् । अलराउन्ड प्रदर्शन गरेका बैतडीका प्रेम ‘प्लेयर अफ दि फाइनल’ भए । समूहको अन्तिम खेलमा भैरहवालाई ८८ रनमा समेटेर दुई विकेटको जित हात पारेको बैतडी नेट रनरेटमा अगाडि रहँदै उपाधि भिडन्त तय गर्न सफल भएको थियो ।  केही हप्ताअघि मात्र बैतडीले यु–१६ राष्ट्रिय प्रतियोगिताको उपाधि पनि जितेको थियो ।
वीरगन्ज उपविजेतामा सीमित भए पनि हसिम ‘प्लेयर अफ दि सिरिज’ र ‘बेस्ट ब्याट्सम्यान’ भए । चार खेलमा १ सय ७६ रन जोड्नाका साथै बलिङ्तर्फ पनि ६ विकेट लिएका हसिमले  १५ हजार रुपियाँ हात पारे । त्यस्तै तीन खेलमा ७२ रन खर्चिएर १२ विकेट हात पारेका बैतडीका विनोद ‘बेस्ट बलर’ भए । प्रतियोगिताको विजेता टोलीले २५ हजार रुपियाँ प्राप्त पारेको छ ।

प्रतिक्रिया