गिलानी दोषी ठहर

इस्लामाबाद, १५ वैशाख । पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री युसुफ रजा गिलानीले अदालतको अपमान गरेको ठहर गरेको छ । यसका लागि उनलाई सांकेतिक सजाय सुनाइएको छ । अदालतको मानहानि गर्नेले ६ महिनासम्म जेल सजाय पाउने कानुन रहे पनि उनलाई साङ्केतिक सजाय मात्रै सुनाइएको हो ।
सात न्यायाधीशको संयुक्त इजलासले बिहीबार गिलानीलाई दोषी ठहर गरेको हो । नसिर–उल–मुल्क नेतृत्वको संयुक्त इजलासले प्रधानमन्त्री गिलानीले जानीजानी अदालतको उपेक्षा गरेर न्यायिक सर्वोच्चताको खिल्ली उडाएको फैसला सुनाएको छ ।
पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दा पुन: ब्यँुताउनका लागि प्रधानमन्त्रीका हैसियतले क्रियाशील हुन अदालतले दिएको आदेश गिलानीले बेवास्ता गरेको भन्दै उनीविरुद्ध अदालतको मानहानिको मुद्दा दायर गरिएको थियो । जर्दारी पाकिस्तानको राष्ट्रप्रमुख भएकाले उनीमाथि मुद्दा चलाउनु संविधनसम्मत नभएको प्रधानमन्त्री गिलानीले पटक पटक दोहोर्‍याएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । गिलानीविरुद्धको मुद्दालाई पाकिस्तानमा न्यायपालिका र कार्यपालिकाबीचको द्वन्द्वका रुपमा बुझिएको छ । न्यायपालिकालाई पाकिस्तानी सेनाको साथ रहेको अनुमान गरिएको छ । पाकिस्तानी सरकारसँग अहिले सेनाको सम्बन्ध पनि बिग्रिएको बताइन्छ ।
पाकिस्तानी राष्ट्रपति जर्दारीमाथि भ्रष्टाचार गरी आर्जन गरेको अकुत सम्पत्ति स्विट्जरल्यान्डका बैंकमा जम्मा गरेको आरोप लागेको छ । तर, जर्दारीले भने आफूमाथि लगाइएको आरोप राजनीतिक दुराग्रहबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् । राजनीतिक सन्तुलन मिलाउन सन् २००९ मा तत्कालीन सैनिक शासक पर्बेज मुसर्रफको शासनताका जर्दारीमाथि लागेको मुद्दा फिर्ता लिइएको थियो । सत्ताबाट मुसर्रफको बहिर्गमनपछि जर्दारीमाथिको मुद्दा पुन: ब्यँुताउन अदालतले आदेश दिएको थियो । राष्ट्रपति जर्दारीले स्विस बैंकमा अकुत सम्पत्ति जम्मा गरे/नगरेको विषयमा अनुसन्धान गर्न आग्रह गरिएको पत्र प्रधानमन्त्रीका हैसियतले स्विस सरकारलाई पठाउन अदालतले प्रधानमन्त्री गिलानीलाई आदेश दिएको थियो । तर, मुलुकका राष्ट्रप्रमुखमाथि देशभित्र अथवा बाहिर मुद्दा लगाउन नसकिने जिकिर गर्दै गिलानीले पत्रचार गर्न अस्वीकार गरेका थिए ।
अदालतले गिलानीलाई दोषी प्रमाणित गर्नेबित्तिकै गिलानीको पिपुल्स पार्टीका कार्यकर्ताले फैसलाको देशव्यापी विरोध गरेका छन् । फैसलाको विरोधमा सिन्धका मीरपुर खास, सखर, नवाबशाह, घोटकी, नौहराफिरोज, खैरपुर, थरपारकरलगायतका जिल्लामा पसल बन्द गरिएका छन् । कराँचीमा गिलानीका समर्थकले टायर बाली मुख्य मार्ग बन्द गरेका छन् । हैदराबाद, मुल्तानलगायतका सहरमा पनि अदालती फैसलाको विरोध भएको छ । (एजेन्सी)

प्रतिक्रिया