सहमतिको दुई दिनमै झडप

काठमाडौं, १५ वैशाख । एकअर्काको विरोधमा लगातार कार्यक्रम गरेपछि वार्ताबाट सहमतिमा पुगेको दुई दिन नबित्दै अनेरास्ववियु र नेविसंघका कार्यकर्ता झडपमा उत्रिएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा महानगरीय प्रहरी परिसर प्रमुखसहित मंगलबार बसेको वार्तामा एकअर्काविरुद्धका क्रियाकलाप नगर्ने सहमति भएको थियो । तर, सहमतिको दुई दिन नबित्दै बिहीबार बिहान चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा झडप भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी धीरजप्रताप सिंहका अनुसार सो वार्तामा दुवैतर्फका मुद्दा फिर्ता लिने, घाइतेको क्षतिपूर्तिका लागि सरकारसँग अनुरोध गर्ने, एकअर्कालाई सद्भावपूर्ण व्यवहार गर्ने सहमति भएको थियो ।
बिहीबारको झडपमा अनेरास्ववियुका पशुपति बहुमुखी क्याम्स कमिटी अध्यक्ष किशोर अधिकारीसहित तीनजना घाइते भएका छन् । अनेरास्ववियुकी उपाध्यक्ष नविना लामाका अनुसार संघका कार्यकर्ताको आक्रमणबाट क्याम्पस कमिटी अध्यक्ष अधिकारीका दुईवटा दाँत भाँचिएका छन् । घाइतेको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
संघले केन्द्रीय तहमा सहमति गर्दै क्याम्पसमा अखिलका नेतामाथि आक्रमण गरेको भन्दै उपाध्यक्ष लामाले अब चुप लागेर नबस्ने बताइन् । ‘वार्ताबाट भएको सहमतिलाई कागजी खोस्टोका रूपमा लिएर नेविसंघले विश्वासको वातावरण गुमाएको छ,’ लामाले भनिन्, ‘अखिललाई कलेजमा निषेध गर्न खोजिएको छ, अब भिड्नुको विकल्प छैन ।’ उनका अनुसार वार्तामा घाइतेलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, एकअर्काविरुद्धका ज्यानमुद्दा फिर्ता लिने र क्याम्पसमा पठनपाठनको वातावरण बनाउने सहमति भएको थियो ।
डिएसपी सिंहले दुई विद्यार्थी संगठनले मंगलबार एकअर्कालाई सद्भावपूर्ण व्यवहार गर्नेलगायत सहमति गरे पनि बिहीबार भएको झडपमा अखिलका दुईजना घाइते भएको बताए । पशुपति बहुमुखी क्याम्पसका पूर्वसभापति तथा संघका नेता कुन्दन काºलेले बिहीबारको घटनामा संघका कार्यकर्ता संलग्न नरहेको दाबी गरे । काºलेले भने, ‘नेविसंघका नेता कसैले हात हालेका होइनन्, विद्यार्थी र अखिलबीच विवाद भएर घटना भएको हो ।’ मंगलबारको वार्तामा समेत सहभागी भएका उनले छानबिन कमिटी बनाएर प्रतिवेदनका आधारमा कारबाही गर्नेलगायत सहमति भएको बताए ।
अघिल्लो बिहीबार पशुपति बहुमुखी क्याम्पसमै झडप भएपछि शुक्रबारदेखि एकअर्काको विरोधमा कार्यक्रम गर्न थालेका थिए । दुवै विद्यार्थी संगठनले आक्रमणमा दोषारोपण गर्दै आएका छन् ।

प्रतिक्रिया