‘सहमतिको प्रतिवेदन अब १६ गते मात्रै’

काठमाडौं, १३ वैशाख । संवैधानिक समितिले नयाँ संविधानका बिवादित बिषयमा सहमति खोज्न बिवाद समधान उपसमितिलाई पुनः दुई दिनको समय उपलब्ध गराएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले शासकीय स्वरुप, राज्य पुनर्संरचना, निर्वाचन प्रणाली, नागरिकता लगायतका बिषयमा राजनीतिक सहमति जुटाउनका लागि १४ र १५ गतेको समय उपलब्ध गराएको जारी विज्ञप्तीमा उल्लेख छ । उपसमितिले १६ गते संवैधानिक समितिमा आफ्नो लिखित प्रतिवेदन सहित उपस्थित हुनुपर्ने छ ।
यस अघि संवैधानिक समितिले पटक पटक उपसमितिलाई समय उपलब्ध गराईसकेको छ । बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दलहरुका बीच समग्र बिषयमा प्रारम्भिक सहमति भएपनि उपसमितिबाट अन्तिम रुप दिन बाँकी रहेको भन्दै समय थप्न आग्रह गरेका थिए ।
समितिको अर्को बैठक १६ गते दिउसो एक बजे पछि बस्ने छ । आजको बैठकमा डेढ दर्जन सभासद सदस्यले धारणा राखेका थिए ।

प्रतिक्रिया