आकर्षण बढाउन विशेष समिति क्रियाशिल

काठमडौं, १३ वैशाख । व्यवस्थापिका संसदको ससदीय सुनुवाई विशेष समितिले आफ्नो क्षमता अभिबृद्धिका लागि बिभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्श गर्नुका साथै आकर्षण बढाउन केही नीति बनाएको छ ।

समितिको कार्यकक्ष सिंहदरबारमा आज बसेको समिति बैठकमा एमाले सभासद मंगलसिद्धी मानन्धर संयोजकत्वको उपसमितिले तयार पारेको सुझाव प्रतिवेदनलाई पारित गरेको सभापति कुलबहादुर गुरुङले जानकारी दिए ।

उनले आगामी दिनमा पारित भएको सुझाव अनुसार काम गर्दै जाने बताए ।

राजदूत, संवैधानिक निकायका पदाधिकारी, प्रधानन्यायाधिश र न्यायाधिश लगायतको सुनुवाई गर्दै आएको समितिले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आवश्यक पर्ने सबै प्रक्रिया अपनाउने निर्णय गरेको छ ।

समितिले पारित गरेको उपसमितिको सुझावमा हालसम्म सुनुवाई भएका राजदूत पुगेका मुलुकको अवलोकन भ्रमणका लागि पहल गर्ने समेत निर्णय गरेको छ ।

त्यसका लागि सीमित केही मुलुक छानेर भ्रमणमा जाने प्रतिवेदनमा उल्लेख रहेको उपसिमिति संयोजक मंगलसिद्धी मानन्धरले जानकारी दिए ।

संयोजक मानन्धरका अनुसार समितिका सदस्यहरुको क्षमता अभिबृद्धि गर्न सेमिनार, गोष्ठी, अन्तक्र्रियाका साथै विज्ञहरुलाई बोलाएर जानकारी हासिल गर्ने निर्णय गरिएको छ ।

आवश्यक पर्ने सान्दर्भिक पुस्तकालय स्थापना, लेखरचना प्रकाशित गर्ने तथा त्यस्ता दस्तावेज सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराउने समेत समितिमा निर्णय भएको संयोजक मानन्धरले उल्लेख गरे ।

सुनुवाईका क्रममा गणपुरक संख्या नै नपुग्ने तथा समितिकै आकर्षण कम भएपछि नियमावलीमा हेरफेर गरेर सुनुवाईका लागि आउने व्यक्तिलाई सुनुवाई पछि ३३ प्रतिसतले अनुमोदन गर्नुपर्ने प्रावधान समितिले बनाएको थियो ।

नियमावली संशोधन हुन पूर्व एक जना मात्रै सदस्यले समर्थन गरेपछि सुनुवाईका लागि आउने व्यक्तिका वारेमा निर्णय गरेर पठाउनुपर्ने बाध्यकारी प्रावधान समितिलाई थियो ।

प्रतिक्रिया